कैलाली, १८ साउन/ कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलालीले विभिन्न क्षेत्रमा सहयोग गरेको छ । महामारीको समयमा रुडुक कैलालीले समस्यामा परेका नागरीक, गरिब विपन्न वर्गलाई सहयोग गर्दैआएको छ ।
महामारीको समयमा गर्भवती महिलाहरुलाई रासन वितरण गरेको छ । महिला हरुलाई पौष्टीक आहारको अभाव नहोस् भन्ने उद्देश्यले धनगढी उप–महानगरपालिकाका विभिन्न वडाहरुमा स्वास्थ्य सामाग्री तथा रासन वितरण गरेको हो ।
उप–महानगरपालिकाका ७० जना गर्भवती महिलाहरुलाई स्वास्थ्य सामाग्री तथा रासन वितरण गरेको रुडुक कैलालीकी अध्यक्ष ममता शाहले बताइन् । अति विपन्न, गरिब र कमजोर आर्थिक अवस्था भएका महिलाहरुलाई राहात वितरण गरीएको छ । उनले भनिन्–‘गर्भवती आमा र बच्चालाई कुपोषणबाट बचाउन पौष्टीकयुक्त आहार वितरण गरेका छौ,’ महामारीको समयमा कमजोर आर्थिक अवस्था भएकागर्भवती र सुत्केरी महिलाहरुले पौष्टीकयुक्त खानेकुरा खान पाएका छैनन्, सोही कारण रासन वितरण गरेका हौ ।’
प्रत्येक गर्भवती महिलालाई ३० केजी चामल, २÷२ केजी गेडागुडी र दाल, २ लिटर तेल, १ केजी नुन, अण्डा, आलु, चिनी, साबुन, सेनेटरी प्याड, ३० ओटा मास्क, डिटोल साबुन, ब्रस कोल्गेट, झुल, तौलीया, लाम्खुट्टे मार्ने धुप, लगाएतका स्वास्थ्य तथा खाद्यन्न सामाग्री वितरण गरेको उनले बताइन् । गर्भवती महिला हरुलाई झण्डै ४ लाख बराबरको खाद्यन्न र स्वास्थ्य सामाग्री वितरण गरेको अध्यक्ष शाहले बताइन् ।
नेपाली कांग्रेसकी नेतृ तथा रुडुककी संस्थापक अध्यक्ष डा.आरजु राणा देउवाको पहलमा कैलाली र कन्चनपुरमा गरिबीको रेखा मुनि रहेका ३०० जना गर्भवती महिलाहरुलाई सन्तुलित भोजनका निमित्त आवश्यक रासन र व्यक्तिगत सरसफाइका सामग्रीहरु उपलब्ध गराइएको छ ।
सिमामा अलपत्र ११ हजार नेपालीलाई खाना
रुडुक कैलालीले गौरीफन्टा नाका हुँदै भारतबाट आएका नेपालीहरूलाई सीमामै पुगेर खाना खुवाएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको समयमा सिमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई खाना खुवाएको हो ।
भारतबाट आएर सिमा क्षेत्रमा अलपत्र र समस्यामा परेका झण्डै ११ हजार नेपालीहरूलाई सहयोग गरिएको अध्यक्ष शाहले बताइन । उनले भारतबाट आएकाहरूलाई खानाको समस्या हुने गरेको भन्दै आफूहरूले सीमामै पुगेर सहयोग गरेको बताइन ।
नेपालीहरुलाई खाना खुवाउन कांग्रेसकी नेतृ तथा संस्थापक अध्यक्ष डा.आरजु राणा देउवा र रुडुककी केन्द्रीय अध्यक्ष सजानी अमात्यले सहयोग गरेको उनले बताइन ।
क्वारेन्टिनहरुमा रुडुकको सहयोग
रुडुक कैलालीले धनगढी उप–महागनरपालिकाका विभिन्न क्वारेन्टिनहरुमा सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका समयमा क्वारेन्टिनमा बसेको मानिसहरुलाई सेनिटाइजर, मास्क, ग्लोवस, स्याम्पु, ब्रस, साबुन, धुप, लगाएतका स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
उपमहानगरपालिका वडा नम्बर १५ जडिबुटी प्रशोधन केन्द्रमा बनाइएको आइसोलेसनलाई करिब ९० हजार बराबरका २५ थान वाल पंखा सहयोग गरिएको छ । यस्तै विभिन्न विद्यालयमा राखीएका क्वारेन्टिनहरुका खानेपानिको समस्यालाई मध्यनजर गर्दै २५ ओटा फिल्टर वितरण गरिएको छ । विद्यालयका क्वारेन्टिनमा बसेकाहरुले हाते नल्काको फोहर पानि खानुपर्ने बाध्यता रहेको र उक्त फोहर पानिले विभिन्न खाले महामारी निम्त्याउने भएकोले पिल्टर वितरण गरिएको हो । यस्तै विभिन्न क्वारेन्टिनमा रहेका ५१ जनालाई स्वास्थ्य सामाग्री वितरण गरिएको अध्यक्ष शाहले बताइन् ।
रुडुकले कारोना भाइरसको समयमा मानिसहरुमा हुने डर, चिन्ता र भयलाई कम मनोचिकित्सकद्धारा घरमै पुगेर मनोपरामर्श दिने काम गरेको छ । सरकारले महामारी नियन्त्रण गर्न गरेको लक डाउनको समयमा सयौं संख्यामा आत्माहत्या गर्नेको संख्यामा वृद्धी भएको मनोपरामर्श दिने काम गरेको अध्यक्ष शाहले बताइन् ।
साथै डाक्टर आरजु राणा देउवाको पहलमा धनगढी उप–महानगरपालिका र कैलारी गाउँपालिकामा स्थापना गरिएका क्वारेन्टिनका लागि २४ थान सिल्भर फिल्टर उपलब्ध गराएको थियो भने स्वास्थ्य तथा सरसफाई सामाग्री वितरण गरिएको थियो ।
