कैलाली १७ साउन- सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य अम्बिका थापा सडक दुर्घटनामा परेर घाइते भएकी छिन् । धनगढी–८, बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएकी हुन् ।
बुद्धचोकबाट जुगेडातर्फ जाँदै गर्दा मोटरसाइकल सवार उनलाई पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनको उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट उनलाई थप उपचारका लागि काठमाडौं लगिन थालिएको नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिए ।
उनको टाउकोमा गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रदेश सभा सदस्य थापा काँग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्दै समानुपातिकबाट निर्वाचित सांसद हुन् ।