बैतडी,१७ साउन- बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ ओखलबटामा निर्माण गरिएको सिचाई पोखरी पाँच दिनमै भत्किएको छ । सिचाई डिभिजन कार्यालय पाटन बैतडी मार्फत गत आर्थिक बर्ष २०७६/०७७ मा निर्माण गरिएको दहखोला सिचाई आयोजनाको सिचाई पोखरी पाँच दिनमै भत्किएको स्थानिय जगदीश जोशीले बताए । गत असार २९ गते पोखरीको निर्माण कार्य सम्पन्न भएकोमा साउन १ गते राती नै सो सिचाई पोखरीको एउटा छेउ तिरको पर्खाल भत्किएको हो ।
प्रदेश सरकारको २ लाख ५० हजार बजेटमा सिचाई डिभिजन कार्यालय पाटन मार्फत कार्यान्वयन भएको उक्त सिचाई पोखरी निर्माणमा कमसल निर्माण सामाग्री प्रयोग गरिएकोले ५ दिनमै भत्किएको बताईएको छ । उता उपभोक्ता समिति अध्यक्ष नर बहादुर नाथले भने आफु उपभोक्ता समिति अध्यक्ष नै नभएको बताउर्दै पन्छिएका छन् ।
आफु स्थानिय मात्रै भएको जानकारी दिदै उनले बालबालिकाहरुले खोलाको पानी पोखरीमा लगाएकोले भत्किएको दाबी गरेका छन । “ असार २९ गते पोखरी निर्माण सम्पन्न भएका थियो, केटाकेटीले पाईपबाट खोलाको पानी रातभरी पोखरीमा लगाएका रहेछन त्यसैले भत्किएको हो ।” उपभोक्ता समिति अध्यक्ष नाथले भने । “ अब मर्मत गर्छौ” । हतारमा गरिने असारे बिकासले निर्माण गरिएका संरचनाहरु गुणस्तरहीन हुने गरेको स्थानियको बुझाई छ ।