महेन्द्रनगर १६ साउन/ कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा तेस्रो पटक पनि भारतीय एसएसबी नेपाल प्रवेश गरेका छन् । नेपाल भारत सीमा ३८ नम्बर पिल्लर क्षेत्रमा बिहीबार स्ट्रिप नक्साका आधारमा आफ्नो दावी गर्दै तेस्रो पटक नेपाल प्रवेश गरेको अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्टले बताए ।
भारतीय एसएसबीका डिपुटी कमाण्डर सहितको टोली प्रवेश गरिसकेपछि सडक निर्माण कार्यमा भारतीय पक्षले बारम्बार अवरोध सिर्जना गर्दै आएको भन्दै त्यहाँका स्थानीय विरोधमा उत्रिएका थिए । नेपालका तर्फबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्ट समेतको टोली त्यहाँ पुगेको थियो । स्थानीयको चर्को विरोधपछि भारतीय डिपुटी कमान्डर सहितको टोली भागेर गएको थियो ।
गतवर्ष ग्राभिलिङ गर्दा अवरोध गरेको भारतीय पक्षले फेरि कालोपत्रे तयारी गर्दा रोकिरहेको छ । हुलाकी सडक निर्माण कम्पनी बाबाहंश सिद्धिकीलाई भारतीय एसएसबीले गतवर्ष पनि उक्त क्षेत्रको १२ सय मिटर सडक भारतमा पर्ने भन्दै काम रोक्न दवाव दिएको थियो ।