कैलाली, ७ साउन/ कैलालीको लम्कीचुहा नगरपालिका–१ को वडा कार्यालयले कोरोना (कोभिड–१९) रोकथाम तथा व्यवस्थापनको नाममा ७३ लाख बढी खर्च गरेको छ ।
वडा कार्यालयले पाना विक पोजेटीभ देखीदा गाउँ सिल गर्दा खटाइएका स्वयम सेवकको भत्ता शिर्षकमा मात्रै ८ लाख ८९ हजार खर्च गरेको छ । यस्तै विभिन्न क्वारेन्टाइनमा खटिएका समिति तथा उप–समितिलाई भत्ता भन्दै १ लाख ९२ हजार बढी रकम खर्च गरेको छ ।
उक्त वडामा कोरोना संक्रमित भने एक जना मात्रै देखीएका छन् । वडाले पहिलो चरणमा १८ जना स्वयमसेवक खटाएको थियो । दोस्रो चरणमा चेतना प्रा.वि.मा २ जना, सारदा मा.वि.मा ७ जना, लम्की बहुमुखी क्याम्पसमा ५ जना, बाल कल्याण मा.वि.मा भुरुवामा ५ जना गरि १९ जना स्वास्थ्यकर्मी र स्वयमसेवक खटाएको जनाएको छ ।
स्वयमसेवकलाई कर कट्टी गरेर दैनिक ५ सय र स्वास्थ्यकर्मीलाई दैनिक १ हजार भत्ता दिएको वडा सचिव बिष्णुकान्त प्याकुरेले जानकारी दिए । उनले नगरपालिकाबाट ४५ लाख पेस्की लिईसकेको र बाकी रकम लिन बाकी रहेको बताए ।
वडा कार्यालयले सेनिटाइजर, माक्स, ग्लोव लगाएतका स्वास्थ्य सामाग्री खरिदमा १ लाख ४५ हजार खर्च गरेको छ । यस्तै कार्पेट र कपडा खरिदमा ७ लाख १२ हजार, खाद्यन्नमा ६ लाख १३ हजार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको खाना खर्च बाफत १ लाख ४८ हजार, खानेपानि र बिजुली खर्च २ लाख ५२ हजार, ६ ओटा होटलबाट प्राप्त बिल शिर्षकमा ३६ लाख ११ हजार खर्च गरेको छ । वडा कार्यालयले विभिन्न शिर्षकमा गरी जम्मा ७३ लाख ८६ हजार ३ सय अठार रुपयाँ खर्च गरेको छ ।
लम्कीचुहा नगरपालिकाभर जम्मा ९ सय ८८ जना क्वारेन्टाइनमा बसेको र ९३ जना कोरोना पोजेटीभ देखीएको नगरपालिका सुचना अधिकारी माधव कुमार जैशी बताए । संक्रमित देखीका ९३ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखीएको उनले जानकारी दिए ।
नगरपालिकाबाट वडा सचिवको नाममा भुक्तानि हुने र खर्चको अधिकारपनि वडा कार्यालयको मातहतमा हुने जैशीले बताए । हामीले नगरपालिकाको कोरोना व्यवस्थापन तथा रोकथामको नाममा भएको खर्च विवरण माग्दा नगर प्रमुख देखी लेखा अधिकृतसम्म कोहीपनि सम्पर्कमा आएनन् । बुधबारनै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले लम्कीचुहा नगरपालिकामा छापा हानेको छ ।
एक संक्रमित भेटीदा ७३ लाख खर्च, भत्तामात्रै ११ लाख
एक संक्रमित भेटीदा ७३ लाख खर्च, भत्तामात्रै ११ लाख
