काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं वार्षिक साधारणसभा तोकिएको मितिमा हुनेरनहुने अन्योल बढेको छ । महासंघले साधारणसभा गर्न स्वीकृति दिन उच्चस्तरीय समितिलाई पत्राचार गरेको थियो ।
उक्त पत्रबारे सोमबारको मन्त्रिपरिषद् बैठकमा छलफल पनि भयो । तर, बैठकले कुनै निर्णय नगरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए । “महासंघले स्वीकृति मागेको विषयमा बैठकमा छलफल भएको थियो तर निर्णय भएको छैन्,” उनले भने । साधारणसभामा कति जना सहभागी हुन्छन् रु कोभिड १९ का बेला स्वास्थ्य सुरक्षालाई ध्यान दिन सक्छन् कि सक्दैन रु लगायत विषयमा मन्त्रिपरिषदमा छलफल भएको थियो ।
यता, नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले भने सरकारले साधारणसभा गर वा नगर भन्नुपर्ने बताउँछिन् । “हामीले सीसीएमसीलाई साधारणसभा गर्न स्वीकृतिका लागि पत्राचार गरेका हौं, मन्त्रिपरिषदमा पठाएको होइन । निर्णयको प्रतीक्षामा छौं,” उनले भनिन् । साधारणसभा गर्न सरकारले अनुमति नदिएसम्म महासंघले साधारणसभा गर्न सक्दैन । उनले साधारणसभाको प्रक्रिया भने नरोकिएको बताइन् । “साधारणसभाको प्रक्रिया जारी छ, तर सरकारको अनुमतिको पर्खाइमा छौं,” उनले भनिन् ।
महासंघले साउन २६ र २७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा साधारणसभा गर्ने निर्णय गरेको छ । त्यसका लागि ललितपुर जिल्ला प्रशासन कार्यालयले हेरिटेज गार्डेनलाई कार्यक्रम गर्न स्वीकृति दिनुपर्छ । सोही कारण महासंघले उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना नियन्त्रण तथा रोकथाम समिति (सीसीएमसी) लाई पत्राचार गरेको छ ।