लण्डन : अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग चीनको विषयलाई लिएर भेटवार्ता गरेका छन् ।
मंगलबार पोम्पिओले जोन्सनलाई भेट गर्नुको उद्देश्य चीनसँग अमेरिकाको कुटनीतिक युद्धमा बेलायती साथ र समर्थन लिनु रहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । पोम्पिओले बेलायती विदेशमन्त्री डोमिनिक राबलाई पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । साथै उनले बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको हकिस समूहका नेताहरुलाई भेट्नेछन् । जुन समूहले चीनलाई हङकङमाथि कानुन लागु गराइएको र चिनियाँ अल्पसंख्यक मुस्लिमहरुको मुद्दामा कारवाही गर्नुपर्ने एजेन्डा उठाउँदैआएको छ ।
चीनले अल्पसंख्यक मुस्लिममाथि दमन गरेको र हङकङमा सुरक्षा कानुन लागु गरेकोमा अन्तर्राष्ट्रिय समुदायले विरोध जनाउँदै आएको छ । ‘सामाजिक दूरीले कुटनीतिक वा राजनीतिक दूरीलाई जनाउँदैन,’ बेलायती प्रधानमन्त्री जोन्सनले पोम्पिओलाई भेट्ने क्रममा ठट्टा गरेका थिए ।
पोम्पिओ यसअघि जनवरीमा लण्डन पुगेका थिए । तर त्यसबेला जोन्सनले चिनियाँ कम्पनी हुआवेसँग सहकार्य नगर्न अमेरिकाले दिएको चेतावनी बेवास्त गरेको बेला थियो । पछिल्लो समय हङकङमाथि नयाँ चिनियाँ कानुनलाई लिएर बेलायत चीनसँग रुष्ट बनेको छ ।
गत महिना मात्रै बेलायतले हङकङका दशौँ लाख नागरिकलाई आफ्नो नागरिकता दिने घोषणा गरेपछि दुई देशका नेताहरुबीच वाकयुद्ध नै चलेको थियो । पोम्पिओ र जोन्सनबीच लण्डनमा भएको भेटवार्तालाई सोही विषयसँग जोडेर व्याख्या गरिएको छ ।
पोम्पिओले यसपछि हङकङका निर्वासित नेता नाथान लसँग पनि साइडलाइन बैठक गर्ने बताइएको छ । तर अमेरिकासँग बेलायतको सम्बन्ध नसुध्रिसकेकाले चीनसँगको विषयमा सहमत हुनसक्ने संकेत नभेटिने बताइन्छ । व्यापारयुद्धबाट खस्किएको अमेरिका र चीनको सम्बन्ध कोभिड १९ को महामारीसँगै थप तनावग्रस्त बन्न पुगेको छ ।