एजेन्सी । आठौं स्थानको सेफिल्ड युनाइटेड एभर्टनसँग पराजित भएको छ । सोमबार राति भएको खेलमा सेफिल्ड युनाइटेड एभर्टनसँग १(० गोलले पराजित भएको हो ।सेफिल्डको घरेलु मैदानमा भएको खेलमा एभर्टनको जितका लागि खेलको एक मात्र निर्णायक गोल रिचर्लिसनले गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रिचर्लिसनले गोल गर्दै एभर्टनलाई जित दिलाए ।
दोस्रो हाफ सुरु भएको एक मिनेट समय नबित्दै उनले गोल गरेका हुन् । खेलको ४६ औं मिनेटमा गिल्फी सिगुरोसनको पासमा गोल गर्दै रिचर्लिसनले एभर्टनलाई तीन अंक दिलाए ।
जितसँगै एभर्टनले ३७ खेलमा ४९ अंक जोड्दै तालिकाको ११ औं स्थानमा छ । पराजित सेफिल्ड युनाइटेड समान खेलमा ५४ अंकसहित आठौं स्थानमा छ ।
त्यस्तै गए राति नै भएको अर्को खेलमा ब्राइटन र न्युक्यासलले बराबरी खेलेका छन्। ब्राइटनको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।