२ श्रावण,
सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार सलह प्रवेश गरेको छ ।
दिउँसो ठूलो संख्यामा आएको सलहको झुण्ड करिब २ घण्टासम्म आकाशमा घुमेको थियो । कर्णाली प्रदेशमा देखिएको सलहमध्ये अहिलेसम्मकै ठूलो झुण्ड वीरेन्द्रनगरमा देखिएको प्रदेशको कृषि मन्त्रालयले जनाएको छ ।
वीरेन्द्रनगरमा देखिएको सलहको झुण्ड दक्षिणतर्फ गएको छ। सलह दक्षिणतर्फ गएसँगै कर्णालीका पहाडी इलाकामा सलहको जोखिम झन् बढेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । उनले सलहको जोखिमबाट बालीनाली बचाउन कृषकले नै बढी प्रयास गर्नुपर्ने बताइन् । ‘सलह छोपेपछि पैसा दिने कार्यक्रम केही प्रदेशमा गरिए पनि यो खासै प्रभावकारी भएको छैन, यसका लागि किसानले आफैं प्रयास गर्नुपर्ने हुन्छ,’ मन्त्री केसीले भनिन्, ‘विषादी प्रयोग गरेर यति ठूलो संख्याको सलह नियन्त्रण गर्न सकिने देखिँदैन, विषादीले अन्यत्र पनि असर पार्छ।’ कृषकहरूलाई सलहबाट बाली जोगाउनका लागि गर्नुपर्ने अभ्यासबारे विभिन्न माध्यमबाट जानकारी गराइएको उनले बताइन् ।
सलह भगाउने मुख्य अभ्यास भनेको ध्वनि निकाल्नु नै भएकाले यस्ता विषयमा जानकारी गराइएको उनले बताइन् । वीरेन्द्रनगरमा सलह प्रबेश गरेपछि किसानले सलहलाइ भगाउन थाली लगायतका सामान बजाएर ध्वनि निकालेका थिए ।
