काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा डिएसपी रमेश सिंहविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सिंहले प्रहरी निरीक्षक पदमा दरखास्त दिन नागरिकता तथा शैक्षिक योग्यता प्रमाणपत्रको जन्म मिति सच्याएको आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
अख्तियारमा डिएसपी सिंहले जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नागरिकताको प्रमाण(पत्रको जन्म मिति सच्याई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिएको भन्ने उजुरी परेको थियो। सोही उजुरीमाथि अख्तियारले अनुसन्धान गर्दा आरोप पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो।
यसरी सच्चाए नागरिकतामा जन्ममिति
२०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्नाका लागि आवेदन खुल्ला भएको थियो। त्यो बेला रमेश सिंहले पनि प्रहरी निरीक्षकमा भर्ना हुनका लागि आवेदन दिए। सशस्त्र द्वन्द्वको समय भएकाल् प्रहरी निरीक्षकको नतिजा निस्कन भने ढिलाई गर्यो ।
२०५८ सालमा परीक्षा दिएका परीक्षार्थीको नतिजा लोक सेवा आयोगले २०६१ सालमा बल्ल निकाल्यो। आवेदन दिएकामध्ये ८४ जना परीक्षार्थी उत्तीर्ण भएका थिए। ती मध्ये एक थिए, रमेश सिंह। उनै रमेश सिंह २०६१ जेठ १५ गतेबाट प्रहरी निरीक्षकमा सेवा प्रवेश गरे। बझाङको श्री शान्ति माध्यमिक विद्यालय चौघानपाटाबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए सिंहले। सिंहको एसएलसीको सिम्बोल नम्बर ०७०००५४ ९बी० हो। २०५८ साल मंसिरमा प्रहरी निरीक्षक भर्नाका लागि आवेदन खुल्यो। एसएसलीको लब्धांकपत्रअनुसार उनको उमेर त्यसबेला २६ वर्ष भइसकेको थियो। लब्धांकपत्रमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो। प्रहरीमा आवेदन खुलेको बेला उनी २५ वर्ष ११ महिनाको भइसकेका थिए। प्रहरी नियमावली अनुसार आवेदन खुलेको मितिमा २५ वर्ष ननाघेको व्यक्तिले मात्रै आवेदन दिन मिल्ने व्यवस्था छ। नक्कली बनाइएको चारित्रिक प्रमाणपत्रमा उनको जन्ममिति २०३३ माघ १२ गते राखेर उनले जागिर खाए । चारित्रिक प्रमाणपत्रअनुसार अब भने उनी प्रहरी निरीक्षकको आवेदन दिन योग्य भएका थिए।
तर अन्य प्रमाणपत्र र नागरिकताअनुसार भने उनी अयोग्य थिएनन्। किनकि अन्य सर्टिफिकेटमा उनको जन्ममिति २०३२ माघ १२ गते थियो। बझाङबाट जारी भएको नागरिकता प्रमाणपत्रमा समेत उनको उमेर २०३२ माघ १२ गते नै थियो। नागरिकतालगायत अन्य प्रमाणपत्र सच्याउनुपर्ने भएपछि सिंहले सोही चारित्रिक प्रमाणपत्रको आधारमा नागरिकताको प्रतिलिपि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिए, जन्ममिति २०३३ माघ १२ गते राखेर। पछि नागरिकता र एसएलसीको चारित्रिक प्रमाणपत्रअनुसार अन्य डकुमेन्टमा भएको २०३२ सालको अन्तिमको २ को ठाउँमा ३ बनाएर सच्याएको पाइएको अनुसन्धानबाट खुलेको छ।
यसअघि पनि घुस प्रकरणमा अख्तियारको फन्दामा परेर उन्मुक्ति
अख्तियारले अनुसन्धान गरी रहेका सिंहविरुद्ध यसअघि पनि अख्तियारले मुद्दा चलाएको थियो। त्यसबेला उनी महानगरीय प्रहरी परिसर ललितपुरमा प्रहरी निरीक्षकको रुपमा कार्यरत थिए। दुई पक्षबीचको लेनदेन विषयमा ुरकम तिर्ने समय लम्ब्याई दिन्छुु भन्दै सिंहसहितको टोलीले घुस लिएको थियो।
त्यसबेला सिंह र अर्का प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीबाट ३ लाख र सई लालमणि पाण्डेबाट १ लाख ५० हजार रुपैयाँ घुससहित अख्तियारले २०७२ फागुनमा पक्राउ गरेको थियो। कलंकीको द स्टुडेन्ट क्याफेुबाट पाण्डे १ लाख ५० हजारसहित पक्राउ परेका थिए। घटनामा पाण्डेले सिंह र ज्ञवालीको नाम लिएपछि उनीहरुलाई ३ लाख घुससहित पक्राउ गरिएको थियो।
२०७२ फागुन १८ गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरे पनि शक्तिकेन्द्रको पुहँचको आधारमा उनीहरुले सफाई पाइएका थिए।