काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजार अनुगमनका क्रममा गुणस्तर परीक्षणका लागि भन्दै नमुनाका रूपमा व्यवसायीबाट लिएका बहुमूल्य धातुका गहना गायब बनाउने वाणिज्य, आपूर्ति, तथा उपभोक्ता संरक्षण विभागका तीन कर्मचारीरुद्ध मुद्दा दायर भएको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर परीक्षणका लागि लिएका सुनचाँदीका गहना तथा हिरा, हिराजवाहरात जस्ता बहुमुल्य धातु गायब पार्ने विभागका तत्कालीन निर्देशकहरु लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे तथा नायब सुब्बा रामबहादुर थापा मगरविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा हिनामिना गरेको सुनका गहनाहरु १४ दशमलव १८ ग्रामको बिगो ६६ हजार २ सय ९३ रुपैयाँ ८६ पैसा, २० दशमलव ५९ ग्रामको बिगो ८९ हजार १ सय ४५ रुपैयाँ र १४ दशमलव ७५ ग्राम सुन र चाँदीका गहना ७७ दशमलव ४२ ग्रामको बिगो ७५ हजार ०३५ रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको छ । तीनजनाले विभागबाट विभिन्न समयमा भएका अनुगमनका क्रममा व्यापारीबाट नमुना परीक्षणका लागि भन्दै लिएको ४९ दशमलव ५२ ग्राम सुन र ७७ दशमलव ४२ ग्राम चाँदीका गहना गायब बनाएको देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
तत्कालीन समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका निर्देशक लक्ष्मण श्रेष्ठले ७ माघ २०७३ मा नोज पिन हाउस नयाँ सडक काठमाडौं र ३० चैत २०७३ मा मा दल बहादुर एण्ड सुनचाँदी पसल, दि युनाइटेड ज्वेलर्स प्रा.लि. गोरखा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा।लि।, फेवा सन्तोष सुनचाँदी दोकान र अर्जुन पुम्दी भुम्दी सुनचाँदी पसल, पोखरामा अनुगमन गरी संकलन गरिएका गहनाहरुका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, कास्कीबाट उल्लिखित पसलका गहना जफत हुने ठहर्छ भन्ने फैसला हुँदासमेत उक्त सरकारी सम्पत्ति सम्बन्धित कार्यालयमा फिर्ता नगरी सरुवा भएपश्चात पनि उक्त गहनाहरु नबुझाई साथमै लिएर गएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
साथै निर्देशक हरि नारायण बेल्वासेले सुर्य बहादुर एण्ड सन्स ज्वेलर्स, ओटु काठमाडौंमा अनुगमन गरी संकलन गरिएका गहनाहरुका सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट अभियोग दाबी नपुग्ने गरी फैसला हुँदासमेत उक्त सरकारी सम्पत्ति आफू सरुवा भै गएपश्चात पनि उक्त पसलमा फिर्ता नगरेको अभियोगपत्रमा उल्लेख छ ।
उनले राखी हिनामिना गरेको, ना.सु .हाल सेवा निवृत्त राम बहादुर थापा मगरले ओम ज्वेलर्स, बिशाल बजार, नटराज ज्वेलर्स बिशाल बजार, संम्बृद्धि ज्वेलर्स न्यूरोड, श्री गणेशाय ज्वेलर्स, न्यूरोड, ब्लु हर्ष ज्वेलर्स प्रा।लि। न्यूरोड र श्री गणेशाय ज्वेलर्स न्यूरोड काठमाडौंमा लक्ष्मण श्रेष्ठको नेतृत्वमा अनुगमन गरी संकलन गरिएका स्टोरकिपरको रुपमा आफूले जिम्मा बुझेका गहनाहरु सम्बन्धित पसलमा फिर्ता नगरी सेवा निबृत्त हुँदासम्म आफ्नो साथमा राखी उक्त सुनचाँदीका गहनाहरु हिनामिना गरेको पाइएपछि अख्तियारले मुद्दा दर्ता गरेको हो ।