डडेल्धुराको आलिताल गाउँपालिका– ६ मा खानेपानीको विषयमा दुई गाउँका बासिन्दाबीच झडप हुदा एक बालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार मृत्यु हुनेमा आलिताल गाउँपालिका– ६ भौना गाउँका गणेश महरका १२ वर्षीय छोरा रहेका छन् ।
आलिताल गाउँपालिका– ६ भौना गाउँ र झरकाँडा गाउँका बासिन्दाबीच खानेपानीको विषयमा झगडा हुदा १२ वर्षीय बालकको मृत्यु भएको हो ।
दुई पक्षबीच हिजो साँझ भएको झडपमा घाईते भएका महरका छोरालाई उपचारका लागि धनगढी लगिएको थियो । उनको उपचारका क्रममा आज बिहान धनगढीस्थित सारथी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले घट्नामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको र घट्नाका बारेमा थप अनुसन्धान भईरहेको बताए ।