तपश्वीको भेषमा बसेर आश्रममा बलात्कार, हत्या र हिंसा गरेको आरोप लागेका रामबहादुर बमजनविरूद्ध बलात्कार अभियोग लगाउँदै सर्लाहीको सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। रौतहटकी किशोरीलाई बलात्कार गरेको प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता युवराज शर्माले जानकारी दिए।
रौतहटकी गंगामाया तामाङलाई आश्रममा बस्दा बलात्कार गरेको आरोप बमजनमाथि थियो। बालबालिकासम्बन्धी ऐनको हदम्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको शर्माले बताए। आफू बालिका हुँदा भएको यौनशोषण बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइन्छ।
बमजनले सर्लाहीको आश्रममा हुँदा आफूमाथि बलात्कार गरेको भन्दै गंगामायाले माघमा जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले यो मुद्दामा अनुसन्धान अघि बढाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिम क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको हो।
१४ वर्ष देखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ।b आफूमाथि २०७३ साल साउन २० गते बमजनले बलात्कार गरे आरोप गंगामायाले लगाएकी छन्। गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्।
अहिले गंगामाया काठमाडौंस्थित बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छन्। बमजन भने बेपत्ता छन्। प्रहरीले पटकपटक उनको आश्रममा छापा मार्दा पनि पक्राउ गर्न सकेको छैन। बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ।
बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्।
बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइवा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्।बमजनको आदेशमा वाइवालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दाकुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन्। आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ।