धनगढी, १८ असार- कैलालीको गोदावरी १ मा स्थापना गरिएको सैपाल ग्याँस उद्योगको उत्पादन आज देखि बजारमा गएको छ । एभरेस्ट ग्रुपले सैपाल ग्यास उद्योग मार्फत उत्पादित ग्याँस आजबाट बजारमा पठाएको छ ।
कैलाली र कञ्चनपुरका ४० वटा डिलर मार्फत ग्यास बजारमा पठाएको सैपाल ग्याँस प्रालिका प्रस्तावित अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनु भयो । काठमाडौं उपत्यकामा समेत गरि ६ वटा ग्याँस उद्योग रहेको एभरेष्ट ग्रुपले सैपाल ग्याँसका लागि आयल निगमबाट करिब तीन महिनाअघि मात्रै सञ्चालन स्वीकृति पाएको अधयक्ष घिमिरेले जानकारी दिए ।
यो संगै एभरेष्ट गु्रपसंग ग्याँस उद्योगको संख्या ७ पुगेको छ । करिव ३० करोड लगानीमा ४३ कट्टा जग्गामा कैलालीको गोदावरी नगरपालिका –१ मा उद्योग संचालन गरेको सैपाल ग्याँसले प्रत्येक दिन १० हजार सिलिण्डर उत्पादन गर्न सक्ने संचालक घिमिरेले बताए ।नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका सैपाल ग्यासका सञ्चालक घिमिरेले सैपाल ग्यासको उत्पादन सुदूरपश्चिम संगै कर्णाली र प्रदेश नम्वर ५ का बजारमा पनि पठाईने बताए ।
न्युन मात्रामा उद्योगहरु रहेको सुदूरपश्चिममा सेवामुखि भावनाले उद्योग संचालन गरेको बताउदै उहाले यस पटक पहिलो बर्ष भएकोले बार्षिक ५६ करोडको कारोबार हुने अनुमान रहेको बताए ।