एजेन्सी । जम्मू–काश्मिरको सोपोरे शहरमा बुधबार भारतीय सुरक्षाकर्मी र आतंकवादीका बीच अचानक भिडन्त भयो । उक्त भिडन्तमा परी एक सुरक्षाकर्मी र एक सर्वसाधारण वृद्धको गोली लागेर मृत्यु भयो । भारतीय सञ्चारमाध्यमका अनुसार, मृत्यु भएका उक्त सर्वसाधारण एक ६० वर्षीय पुरुष थिए । उनी आफ्ना तीन वर्षीया नातिलाई घुमाउन निक्लेका थिए ।
तर, अचानक चलेको गाली लागेर उनी बाटोमै ढले । ढलेका हजुरबुबाको शरीरमाथि बसेर भयभित भएर रोइरहेका उक्त बालकको तस्विर कसैले कैद गर्न भ्यायो । यतिबेला उक्त तस्विर सामाजिक सञ्जालमा ‘मुटु नै छिया–छिया पार्ने तस्विर’ भन्दै सेयर भइरहेको छ । उक्त बालकको एक भिडियो पनि सार्वजनिक भएको छ । प्रहरीले ती बालकलाई उद्धार गर्दा उनी भयभित मुद्रामा रोइरहेका थिए । भिडियोमा ‘आमाकोमा पुर्याइदिनु न’ भन्दै रोइरहेका बालकलाई बिस्कुल र चकलेट दिन्छु भन्दै प्रहरीले फकाइरहेका छन् ।
काश्मिर प्रहरीले उक्त बालकलाई सुरक्षित लगिँदै गरेको तस्विर पोस्ट गर्दै भनेको छ, ‘सोपोरेमा भएको एक आतंकवादी आक्रमणका क्रममा एक तीन वर्षीय बालकलाई गोली लाग्नबाट बचाउन जम्मु–काश्मिर प्रहरी सफल भएको छ ।’ उक्त बालक आफ्ना हजुरबुबासँग श्रीनगरबाट हान्ड्वारातिर एक मारुती कारमा गइरहेका थिए, उनीहरु सोपोरे सहर पुग्दा आतंकवादी आक्रमण सुरु भयो ।
हजुरबुबा कारबाट निक्लिएर सुरक्षित ठाउँ खोज्दाखोज्दै उनलाई गोली लागेको सिआरपिएफले जनाएको छ । ‘हामी उक्त ठाउँमा पुग्दा हामीले विभत्स दृश्य देख्यौँ । हाम्रो लक्ष्य बालकलाई बचाउनु थियो । आतंकवादीले फाइरिङ गरिरहेका बेला उद्धार गर्नु निक्कै चुनौतीपुर्ण भयो,’ एक प्रहरी अधिकारी अजिम खानले एएनआईसँग भने ।