मिना साँउद
काठमाण्डौ १३ असार- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि गरिएको लकडाउनका कारण सार्वजनिक यातायात क्षेत्र प्रभावित बनेको छ । लामो समयको लकडाउनले सबै क्षेत्र ठप्प रहेर आर्थिक संकट पर्ने देखिएपछि असार १ गतेदेखि अत्यावश्यकिय वस्तुको व्यापार सामान्य संचालनमा आएका छन् । तर देशको मुख्य आर्थिक स्रोतको रुपमा रहेको सार्वजनिक यातायात चालयमान हुन सकेको छैन् ।
देशका अन्य क्षेत्रको व्यापार व्यवसाय सामान्य संचालनमा आएर व्यापारीहरुलाई केहि राहत भएपनि नागरिकको आवतजावतमा सहजताका लागि संचालनमा ल्याइएका सार्वजनिक सवारी साधन भने पूर्णरुपले ठप्प छन् ।यसरी सार्वजनिक सवारी ठप्प हुँदा नीजि सवारी नभएका नागरिकलाई आवतजावत गर्न सास्ती भइरहेको छ । सामान्य रुपमा कार्यालय तथा बजारहरु खुलिरहेको अवस्थामा सार्वजनिक सवारी साधन संचालनमा नआउँदा घण्टौ हिडेर कार्यालय पुग्नु बाध्यता रहेकाले सरकारले केहि सावधानी अपनाएर सार्वजनिक सवारी संचालनमा ल्याउन धनराज पाण्डेले माग गरे ।
कोरोना कहर समाप्त भई अवस्था सामान्य बन्न लामो समय लाग्न सक्ने आँकलन भएकाले सार्वजनिक सवारी साधन अझै निर्धक्कका साथ चल्ने अवस्थाको टुंगोे छैन् । जसले गर्दा सार्वजनिक यातायात व्यवसायी सबैभन्दा बढी र लामो समयसम्म नोक्सानीमा जाने स्थिति बनेको छ । संक्रमण बढेसँगै सन्त्रास पनि बढिरहेका बेला सार्वजनिक यातायात व्यवसायीहरु धान्नै नसक्ने आर्थिक संकटको स्थितिमा आइपुगेका छन् ।
लकडाउन हटेपछि पनि जनमानसमा संक्रमणको त्रास कायमै रहने भएकाले सार्वजनिक यातायातको प्रयोगप्रति मानिसहरुको अरुची बढ्न थालेको छ । मुलुकभरीका सार्वजनिक सवारी साधनमा २५ देखि ३० प्रतिशत मालवाहक सवारी साधन अत्यावश्यक खाद्यन्न ढुवानीमा र विकास निर्माणमा केहि टिपरहरु संचालमा आएको भए पनि यात्रुवाहक सवारी पूर्ण रुपमा ठप्प छन् ।
अनुमानित १० खर्बको लगानी रहेको यातायात क्षेत्रमा प्रत्यक्ष १० लाखले रोजगारी खतरा भएको भन्दै तीनमा आश्रित करिब ४० देखि ५० लाख मानिस प्रभावित भएको यातायात व्यवसाय महासंघका महासचिव सरोज सिटौलाले बताए । ७० देखि ८० प्रतिशत बैंक तथा वित्तिय संस्थाहरुको लगानी रहेको यातायात क्षेत्रमा बाँकी २० देखि ३० प्रतिशत लगानी समान्य नागरिकको रहेको छ । दैनिक रुपमा सवारी चलाएर रोजिरोटी कमाइरहेका चालकलाई यतिबेला आफ्नो पेट पाल्नसम्म धौ–धौ भएको बेला बैंक फाइनान्सहरुले तनाब तथा डिप्रेशनको वातावरण बनाइरहेका छन् ।
करिब तिन महिनासम्म सवारी साधन थन्किए पछि यतिबेला ती सवारी साधन बिग्रिएको अवस्थामा छन् । देशका करिब ६ सय महिला टेम्पो चलाएर जिबिकोपार्जन गर्दै आएका छन् । जबसम्म सार्वजनिक सवारी चलायमान हुँदैन तबसम्म मुलुकको अर्थतन्त्र पनि चालयमान नहुने र यो अवस्थाबारे सरकारलाई बारम्बार अवगत गराउदा पनि सरकारले व्यवस्था गरे मुलुकको अर्थतन्त्र डामाडोल भएर ठुलो समस्या भएको महासचिव सिटौलाले बताए ।