काठमाडौं । चालु आर्थिक वर्षको १० महिनमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ६.१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले वैशाख मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै रेमिट्यान्स घटेको जनाएको छ ।
कोरोना भाइरस कोभिड १९ को नकारात्म प्रभाव रेमिट्यान्समा पनि रहेको र जसले गर्दा मुलुकमा आउने रेमिट्यान्स घटेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र चालु आबको वैशाख मसान्त सम्ममा ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा ७ खर्ब २५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको थियो ।
फागुनसम्म नेपालमा मासिक औसत करिब ७५ अर्ब रेमिट्यान्स भित्रिएकोमा चैत यता भने कोरोनाको प्रभावको कारण रेमिट्न्समा कमी आएको छ । चैत मसान्त सम्ममा नेपालको विप्रेषण आप्रवाह ६ खर्ब २६ अर्ब ९० करोड रहेकोमा वैशाख महिनामा करिब ५४ अर्ब विप्रेषण भित्रिएको छ । जुन गत चैतको भन्दा बढी भएपनि औषत भन्दा कम हो । चैत महिनामा ३४ अर्ब ४८ करोड रेमिट्यान्स भित्रिएको थियो ।
विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसले गर्दा वैदेशिक रोजगारी ठप्पजस्तै छ । जसले गर्दा वैदेशीक रोजगारीमा जानेको संख्या पनि घटेको छ । वैशाख मसान्तमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ राष्ट्र बैंकले जनाएो छ । पुनः श्रम स्वीकृति लिएर वैदेशीक रोजगारीमा जानेको संख्या पनि २४.६ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
विप्रेषण आप्रवाहसँगै खुद ट्रान्सफर आय पनि घटेको छ । गत वषको सोहि अवधिको भन्दा खुद ट्रान्सफर आय ६.५ प्रतिशतले घटेर ७ खर्ब ७२ अर्ब ५१ करोड कायम भएको छ । गत वर्षको वैशाख मसान्तमा ८ खर्ब २६ अर्ब २० करोड रहेको थियो ।