-एजेन्सी
कोरोना भाइरसको संक्रमणको दोस्रो लहरले अर्थतन्त्रमा पार्नसक्ने प्रभावको चिन्ताका कारण विश्वमा आर्थिक बजारमा समस्या उत्पन्न भएको छ ।
अमेरिकी अर्थतन्त्रमा सुधार आउन लामो समय लाग्न सक्ने केन्द्रीय बैंकको चेतावनीपछि विश्व बजारमा गिरावट देखिएको छ ।
केही सातादेखि अमेरिकी बजारका सुचकांकहरु ओरालो लागेका छन् । डाव जोन्सको औद्योगिक सूचकमा करिब ७ प्रतिशतले गिरावट आएको छ ।
तेलको मूल्यमा ठूलो क्षति भइरहँदा ऊर्जा तथा यात्रासम्बन्धी स्टकमा सबैभन्दा बढी क्षति पुगेको छ ।
यसअघि युरोपेली तथा एसियाली शेयर बजारमा गिरावट आएको थियो । बेलायतको फुट्सी हन्ड्रेड करिब ४ प्रतिशतले ओरालो लागेको छ । जर्मनीको डाक्स ४.४ प्रतिशतले र फ्रान्सको सीएसी फोटी पनि ४.४ प्रतिशतले खस्किएको छ ।
‘सरकार, कम्पनी र मानिसहरू दोस्रो लहरको सङ्क्रमणका लागि पहिलोभन्दा अझ राम्ररी तयार हुनेछन्,’ युरोपेली शेयर मामिलासम्बन्धी विज्ञ रोलान्ड कलोयानले भने, ‘तर समस्या के हो भने सरकारहरूले असीमित रूपमा रकम खर्च गर्न सक्दैनन्।’
कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि चालिएका कदमहरू खुकुलो पारिएपछि अर्थतन्त्रमा सुधार आउने आशासहित शेयर मूल्यमा केही वृद्धि भएको थियो ।
अमेरिकी रोजगारदाताहरूले मे महिनामा कर्मचारीहरू लिन थालेको रिपोर्टपछि गत साता नास्डाकले नयाँ उचाइ लिएको थियो । तर सुधारमा तीव्रता आउन सकेन ।
बिहीबारमात्रै अमेरिकी श्रम मन्त्रालयले जनाए अनुसार गत साता थप १५ लाखले बेरोजगारी भत्ताका लागि आवेदन दिएका छन् । तीन करोडभन्दा बढी मानिसले त्यो सुविधा लिइरहेको मन्त्रालयले जनाएको छ ।
बैंकसम्बन्धी नीतिकारहरूले जनाए अनुसार यो वर्षको अन्त्यसम्म बेरोजगारी दर ९ प्रतिशतभन्दा माथि रहन सक्छ ।
अमेरिकाका थुप्रै राज्यहरूले व्यापार–व्यवसाय खोल्न सुरु गरेका छन् । एरिजोना तथा क्यालिफोर्नियासहितका राज्यमा पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणका घटनामा वृद्धि देखिएको छ।
केन्द्रीय ब्याङ्कका प्रमुख जेरोम पावेलले भने, ‘राष्ट्रिय स्तरमा महामारीको सामना गर्न नपरेको अवस्थामा पनि त्यसले आर्थिक सुधारमा प्रभाव पार्न सक्छ । स्थानीय तहमा सङ्क्रमण बढ्दा त्यसले भ्रमण गर्ने मानिसको आत्मविश्वासमा, रेष्टुराँ तथा मनोरञ्जनका क्षेत्र सञ्चालमा प्रभाव पार्न सक्छ ।’
डाउव ६.९ प्रतिशतले ओरालो लागेको छ भने नास्डाक ५.२ प्रतिशतले झरेको छ । लकडाउनले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकामा करिब ३ महिना आर्थिक गतिविधि ठप्प बनेको थियो ।
