काठमाडौं । भूमीसुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालले झण्डै १० करोड अकुत सम्पत्ति कमाएको पाइएको छ । उनले गैरकानूनी कामबाट आर्जन गरेको उक्त सम्पत्ति लुकाउन श्रीमती, सालीदेखि जेठानसम्मलाई प्रयोग गरेको पाइएको छ। ढकालले साली नाताकी व्यक्तिका नाममा सवारी साधन खरिद गरी प्रयोग गर्ने गरेका थिए।
आफू र आफ्नै परिवारका सदस्यहरूको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा संचालित बैंक खाताहरूमा कारोबार गर्दा पोल खुल्ने भएकाले परिवारभन्दा बाहिरका व्यक्तिबाट आर्थिक कारोबार गर्ने गरेका थिए। हाल अष्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैंकमा नयाँ खाता खोली उक्त खाता खोलेकै दिन खाता संचालकबाट खाता संचालनको अनुमति लिई ढकालले ४ करोड २६ लाख ९९ हजार २ सय ९४ रुपैयाँ जम्मा गरेको पाइएको थियो। उनले गैरकानूनी आर्जनबाट उक्त सम्पत्ति कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मंगलबार मुद्दा दायर गरेको छ । २०५४ माघ १४ गते अस्थायी शिक्षकमा सार्वजनिक सेवामा प्रवेश गरी ढकाल मालपोत कार्यालय लमजुङ्गबाट खरिदारको पदमा मिति २०५५ असोज १६ गते स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरेका थिए ।
शाखा अधिकृतको पदमा बढुवा भएका ढकालले निजामती सेवामा प्रवेश पश्चात मालपोत कार्यालयहरू तनहुँ, कास्की, डिल्लिबजार काठमाडौं, पर्सासमेतका मालपोत कार्यालयहरूमा कार्यरत रही हाल मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत रहेका थिए। उक्त समयमा अहिलेसम्म उनले १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ अकुत सम्पत्ति कमाएको अख्तियारले जनाएको छ।
ढकालले आफू तनहुँ जिल्लास्थित मालपोत कार्यालयमा कार्यरत रहँदा तनुहँकै डेकबहादुर गुरुङ्गको नाममा भएको जग्गा कुनै किसिमको खरिद बिक्री नै नगरी लिखतमा सरकारी न्युनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोबार देखाई आफ्नो नाममा समेत ल्याएका थिए । पछि जग्गा फिर्ता गर्दा लिखतमा अत्यधिक मूल्य खुलाई हुँदै नभएको खरिद बिक्री कारोबारमा १ लाख ९७ हजार लगानी गरेको केही दिनमै १ करोड ६८ लाख आर्जन गर्न सफल भएका थिए। यसरी उनले झण्डै साढे १० करोड अकुत सम्पत्ति कमाएको अख्तियारले जनाएको छ।