कैलाली। अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कोअर्पोरेशन (एमसिसी) तीन वर्षदेखि बजेटमा रहेकोले आफुले पनि दोहोर्याएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले तीन वर्षदेखि निरन्तर बजेटमा उल्लेख भएकोले आफुले पनि त्यसको निरन्तरता दिएको उनले बताए ।
‘अमेरिकी सहयोग एमसीसीको सहयोग रकम त्यो बेला मात्रै निकासा हुन्छ त्यो बेला मात्रै निकासा हुन्छ । जुन बेला संसदमा विचाराधीन रहेको सम्झौतापत्र यो संसदले अनुमोदन गर्छ । त्यो नगरुन्जेल यथावत नै रहन्छ’, अर्थमन्त्रीको जवाफ छ । त्यस्तै अर्थमन्त्री खतिवडाले सरकारले बनाएको वैदेशिक सहायता नीतिका आधारमा त्यस्ता सहायता राष्ट्रिय बजेटमा, राष्ट्रिय हितमा र राष्ट्रिय स्वार्थमा मात्रै प्रयोग गर्ने गरेको बताए ।
करिब ५५ अर्ब रुपैयाँको उक्त कार्यक्रम अन्तरगत सरकारले तीन वर्षदेखि नै बजेट परिचालन गरिरहेको मन्त्री खतिवडाको भनाई छ ।
‘एमसिसीको सहयोगमा तीन वर्षदेखि कार्यक्रम गर्दै आएका छौं, आगामी वर्षको बजेटमा पनि उक्त कार्यक्रम राखिएको छ, संसदबाट एमसीसी सम्झौता पारित भएपछि मात्रै उक्त कार्यक्रम अन्रतगतको रकम निकासा सम्भव छ,’ उनले भने ।
अमेरिकासँग तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेको एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ नेकपा अझै अनिर्णित छ।
यस्तै, उनले कोरोना भाइरस रोकथाम तथा निन्त्रण सरकारको पहिलो प्राथमिकता भएका पनि दोर्होयाएका छन् ।