काठमाडौं । कोरोना संक्रमितको दुई जनाको मृत्यु भएसँगै संक्रमतिको संख्या बढ्न थालेपछि स्वास्थ्य तथा जनासंख्या मन्त्रालय तातिन थालेको छ । मन्त्रालयमा नियमित बस्ने बैठक मार्फत स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड –१९ परीक्षणको दायरालाई तीव्रता दिन निर्देशन दिएका छन् ।
आइतबार बसेको बैठकमा मन्त्री ढकालले स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा आयुक्त महाशाखा प्रमुखलगायतलाई ५ लाख जनाको परीक्षणका लागि व्यवास्था मिलाउन निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बताए ।
केहीदिन पछि भारतबाट ठूलो संख्यामा नागरिक स्वदेश भित्रिने भएकाले परीक्षणलाई तीव्रता दिने भएको छ । यस महिनामा २ लाख पीसीआर र ३ लाख आरटीडी विधिबाट परीक्षण गर्नका लागि छलफल कार्यलाई अगाडि बढाएको उनले बताए ।
०७६ माघ महिनादेखि हालसम्म पीसीआर र आरडीटी गरी जम्मा ९० हजारभन्दा बढीको परीक्षण गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले परीक्षण ५ लाख पु¥याउने भनिरहँदा मन्त्रालयका एक कर्मचारीको अनुसार जम्मा पीसीआर किट ३० हजार र आरडीटी किट २० हजार मात्रै मौज्दात छ ।
नेपाल भारत नाका हुँदै लुकेर छिरेका व्यक्तीमा कोरोना संक्रमत भएको पाइएपछि क्वारेटाइनको अनुगमन तथा व्यवस्थापन गर्ने जिम्मा उच्चस्तरीय समन्वय समितिले स्वास्थ्य राज्यमन्त्री नवराज रावत र शहरी विकास मन्त्री रामविर मानन्धरलाई दिएको छ ।
क्यारेन्टाइनमा बस्नेहरुको तीव्र रुपमा परीक्षण गरेर असंक्रमितलाई छिट्टै घर पठाउने र नयाँलाई क्वारेन्टाइनमा राख्ने उनको भनाइ छ । क्यारेन्टाइनको गुणस्तरियता व्यवस्थापनको लागि आवश्वक निर्णय समेत हुनेछ ।