काठमाडौं । नेपालको भूमि लिपुलेकमा भारतले चीन जोड्ने बाटो बनाएपछि नेपालमा भएको प्रदर्शनमा सोमबार १ सय ६४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरु अधिकांश माइतीघर मण्डला क्षेत्रबाट पक्राउ परेका हुन् । यद्यपि प्रहरीले भने आन्दोलन गरेको नभइ लकडाउन उल्लंघन गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको दावी गरेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार सोमबार काठमाडौंको विभिन्न क्षेत्रबाट १ सय ६४ जनालाई पक्राउ गरिएको हो । उनले भने, ‘आन्दोलन गर्न पाउने उहाँहरुको अधिकारकै विषय भयो । तर सरकारले लकडाउनका कारण ५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने भनेपनि धेरैको सङ्ख्यामा उहाँहरु भेला भएपछि पक्राउ गरिएको हो । उहाँहरुलाई आज साँझ नै छाडि सकिएको छ ।’
पक्राउ पर्नेमा पूर्व प्रशासकदेखि सेना र प्रहरीका पूर्व अधिकारी र राजनीतिक दलका कार्यकर्ताहरु रहेका छन् ।
सोमबार माइतीघरमा प्रदर्शनको तयारी गरिरहेका बेला पूर्वप्रशासक द्वारिकानाथ ढुङ्गेल, पूर्व महालेखा परीक्षक सुकदेव भट्टराई, नेपाली सेनाका पूर्व सहायकरथी रामकृष्ण थापा तथा नेपाल प्रहरीका पूर्व एसपी दिलिपसिंह बस्नेत लगायतका व्यक्तिहरु समेत पक्राउ परेका थिए ।
त्यसैगरी पक्राउ पर्नेमा अधिकांश नेपाल विद्यार्थी संघ तथा राप्रपाका विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरु रहेका छन् ।
पूर्व प्रशासक ढुङ्गेलका अनुसार उनीहरुलाई माइतीघर प्रवेश गर्नै लाग्दा पक्राउ गरिएको थियो । अपरान्ह २ः४० मा पक्राउ गरिएका उनीहरुलाई साँझ सवा ७ बजे रिहा गरिएको थियो ।
नेपाली भूमि लिपुलेकमा भारतले चीनसँग जोड्ने उद्देश्यका साथ बाटो निर्माण गरेपछि नेपालमा भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।
यद्यपि सरकारले भने प्रदर्शन गरेको कारण नभइ कोरोना संक्रमण रोक्न लकडाउन गरिएको अवस्थामा ५ जनाभन्दा बढी मानिस भेला भएको कारण पक्राउ गरिएको बताएको छ ।