धनगढी, २८ वैशाख
कैलालीमा दुई दिन यता दैनिक जसो आँधीहुरीसंगै वर्षा भयो । कैलाली जिल्लाका सबै नागरिक घरभित्र सुरक्षित थिए । तर तिनै नागरिकको सुरक्षाका लागि सीमामा खटिएको सशस्त्र प्रहरीलाई भने ओत लाग्ने पाल र ज्यान कसरी जोगाउने भन्ने चिन्ता थियो । हावा यति जोरसंग चल्यो कि सशस्त्र प्रहरीको पुरै टीमले जोगाउन खोज्दा पनि जोगाउन सकेनन । किला सहित डोरी र पाल उडाउने गरी आएको हावाबाट ओत जगाउन सशस्त्र प्रहरीले भरमग्धुर प्रयत्न गरे । तर सकेनन ।
कैलारी गाउँपालिका वडा नम्बर ५ हौसलपुर घाट स्थित ४२५ नम्बर सीमा स्तम्भमा रहेको पोष्ट हावाले उडाएर लग्यो । भजनीको गुलरिया घाटमा रहेको पोष्टलाई पनि सशस्त्र प्रहरीले जोगाउन सकेनन । ती सहित तीन वटा पोष्ट पुरै उडाएर लग्यो । अरु दर्जनौ पोष्टमा पनि क्षति पुग्यो । तर सशस्त्र प्रहरीहरुको सामूहिक प्रयासबाट पोष्ट भने जोगियो । पानीले ड्युटीमा खटिएकाहरु त निथु्रक भिजे नै । पोष्टभित्र पानी पसेपछि भित्र रहेका सशस्त्र प्रहरी र त्यहा रहेका उनीहरु लुगाकपडा समेत भिजे । हावाहुरीले कतिपय पोष्टका त भाडाकुडा समेत उडाएर लगे । बेस्सरी हावा चल्न थालेपछि पालको ओतमुनी सुतेका सशस्त्र प्रहरीको निन्द्रा भागिसकेको थियो । त्यसै त रातभरी मच्छरले टोकेर सुत्न पाउदैन । त्यसमाथि सर्पको डर त्यस्तै । दिउसो पिउनलाई पानी हुदैन । दिउसो पानीको प्यासले छटपटिने सशस्त्र प्रहरी राति भने उडाउला झै गरी चल्ने बतास र त्यहीमाथि हुने वर्षाबाट कसरी जोगिने भन्ने चिन्तामा हुन्छन् ।
नदी बगर किनारमा रहेका सशस्त्र प्रहरीका पोष्टहरुमा खटिएका सशस्त्र प्रहरीलाई दिउसो हावाले उडाएर ल्याउने बालुवाले बस्न कठिन हुन्छ । एक सय एक किमी लामो भारतसंग जोडिएको कैलालीका सीमानामा ४२ वटा अस्थायी पोष्ट र एक सय २१ ड्युटी पोष्टमा समेत गरी सशस्त्र प्रहरी झण्डै ६ सय सशस्त्र प्रहरी कार्यरत छन् । अधिकांश ड्युटी पोष्ट पालमा छन् । सीमा सुरक्षामा खटिएका सुरक्षामा खटिएका सशस्त्र प्रहरी हुरी चल्न थालेपछि पाल जोगाउन लाग्छन् । बत्ती छैन । मोवाईल चार्ज गर्न पाईदैन । पानीको धारा छैन, सशस्त्र प्रहरीका एक अधिकृतले भन्नुभयोे, पानी लिन पनि कतिपय पोष्टबाट चार किमी देखि सात किमी टाढा जानुपर्छ । कोरोना रोकथामका लागि सरकारले जारी गरेको लकडाउनकै क्रममा कैलालीको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले भारतबाट आउने व्यक्तीहरुलाई सीमाबाट भित्रिन नदिन अस्थायी र ड्युटी पोष्टहरु स्थापना गरेको हो । दिनभरी तातो घामसंग जुधेका सशस्त्र प्रहरी रातभरी हावाहुरी र पानीसंग जुधे । उनीहरु भिजे । गले । तर थाकेनन । रातभरी सुत्न नपाएका उनीहरु बिहानैदेखि भने ड्युटीमा खटिसकेका थिए । अझ हावाले उडाएको पालहरु खोजेर बिहान उनीहरु अस्थायी घर बनाउन जुटिसकेका थिए । केही घण्टाको प्रयासपछि अस्थायी ओत लाग्ने घर बनाई छाडे । सायद अर्को हुरी नआउञ्जेलसम्म मात्र उनीहरु ढुक्क हुनेछन् ।