धनगढी, २८ वैशाख-सुदूरपश्चिम प्रदेशमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको छ । प्रदेशभरी लकडाउनपछि अपराधिक गतिविधिमा कमी आएपनि आत्महत्याको क्रम भने लकडाउनमा पनि रोकिएको छैन । लकडाउनको ४५ दिनमा सुदूरपश्चिमका नौँ जिल्लामा ४६ जना पुरुष र ३८ जना महिला गरी ८४ जनाले आत्महत्या गरेका छन् । कैलालीमा सबैभन्दा बढि २४ जना पुरुष र नौँ जना महिला गरी ३३ जनाले आत्महत्या गरेका छन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कञ्चनपुरमा १२ महिला र ५ पुरुष गरी १७, डोटीमा ६ पुरुष र ६ महिला गरी १२, डडेल्धुरामा दुई पुरुष र एक महिला गरी तीन, बैतडीमा तीन पुरुष र एक महिला गरी चार, दार्चुलामा दुई पुरुष र दुई महिला गरी चार, अछाममा चार पुरुष र दुई महिला गरी ६, बाजुरामा तीन महिला र बझाङ जिल्लामा दुई महिलाले आत्महत्या गरेका छन ।
सुदूरपश्चिम प्रदेशमा आत्महत्याको दर हेर्दा दुर्गम जिल्लाको तुलनामा सुगम जिल्लामा धेरै बढी छ । सुदूरपश्चिमका नौँ जिल्ला मध्ये सबैभन्दा बढी कैलालीमा आत्महत्या गर्नेको सङख्या छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले शहरीकरणले पनि आत्महत्याको दर बढाएको बताउनुभयो । ‘सहरमा जिविका चलाउन सहज नहुने भएकाले सोही कारणले निराशा उत्पन्न हुने र आत्महत्यालाई रोज्ने समस्या बढेको छ,’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय सामाजिक सञ्चालको गलत प्रयोगले पनि विभिन्न समस्यामा फस्ने र सोही समस्याबाट उम्किन नसक्दा आत्महत्या रोज्ने समस्या समेत बढेको छ ।’
उहाँका अनुसार जिल्लामा नौँ बर्षका बालकले समेत आत्महत्या गरेका छन् भने लकडाउनकै अवधिमा ६० बर्षभन्दा माथिका बृद्धले समेत आत्महत्या गरेका छन । अधिकासं विवाहित महिला र पुरुषले आत्महत्या गरेका छन् । शहर बजारमा हुने अभाव र गरीबीले थिचिएर पनि धेरैले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको बुझाई छ । आत्महत्या गर्नुको कारण सतहमा जे देखिए पनि गहिरिएर हेर्दा अधिकांशमा गरीबी प्रमुख रहेको समेत प्रहरी अधिकारीले बताउँदै आएका छन् । गरीबीले ल्याउने मानसिक तनाव अरूको भन्दा खप्नै गाहे पर्ने हुने भएकाले गरिबीले आत्महत्या निम्त्याएको धेरैको बुझाई छ । पहाडी जिल्ला र ग्रामिण क्षेत्रको तुलनामा सहरमा आत्महत्या बढी हुनुको अर्को कारणका रुपमा प्रहरीले अवैध सम्वन्ध पनि रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक रविन्द्र पौडेलले सहर बजारमा प्रेममा धोका पाएर पनि धेरै युवा युवतीहरुले आत्महत्याको बाटो रोजेको बताउनुभयो । ‘सहरी क्षेत्रमा विवाहित महिला र पुरुषले समेत अवैध सम्वन्ध बनाउने र त्यसबाट निराशा बढ्दै गएपछि आत्महत्याको बाटो रोज्ने गरेको देखिएको छ ।’ प्रहरी नायव उपरिक्षक पौडेलले भन्न्नुभयो ।
विगतमा आत्महत्या भन्ने वित्तिकै फाईल बन्द गर्ने प्रहरीले विस्तारै आत्महत्याको समेत अनुसन्धान भने गर्न थालेको छ । प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई दुरुत्साहन मुद्दा लगाउन थालेको हो । अनुसन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आत्महत्या गरेको खुलेपछि आत्महत्या गर्न बाध्य बनाएको आरोपमा नयाँ फौजदारी अपराध संहिता अनुसार दुरुत्साहन मुद्दा लगाउन थालिएको हो ।