कञ्चनपुर, ०८ चैत्र । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको थप संक्रमणको जोखिम न्युनीकरण गर्न गड्डाचौकी नाका बाहेक नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत गर्न प्रयोग भएका कञ्चनपुरका सबै नाका बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको शनिबार बसेको समन्वय बैठकले गड्डाचौकी नाका बाहेक कञ्चनपुर जिल्लाका अन्य सबै नाकाहरुबाट हुने भारत तर्फको आवागमनलाई तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार, गड्डाचौकी नाकामा गरिने स्वास्थ्य जाँचलाई थप व्यवस्थित र प्रभावकारी बनाउने, सवारी साधनको आवतजावतलाई तत्काल रोक्ने र नेपाल भित्रिने सबै पैदल यात्रीहरुको विवरण टिपोट गरी थप स्वास्थ्य सल्लाह पछि मात्र नेपाल भित्रिन सक्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ । यसका साथै गन्तव्य स्थानमा पुगिसकेपछि अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था मिलाउन प्रदेश सरकारसंग आग्रह गरिने उहाँको भनाइ छ ।
समन्वय बैठकले महाकाली अस्पतालको आइसोलेशन वार्ड तयारी अवस्थामा राख्न र यसका लागि आवश्यक यन्त्र उपकरण तथा स्वास्थ्यकर्मी समेत तयारी हालतमा राख्ने व्यवस्था महाकाली अस्पतालले मिलाउने निर्णय गरेको छ । यसमा आवश्यक थप सहयोगको लागि प्रदेश सरकार समक्ष योजना सहित पेश गर्ने बताइएको छ । त्यस्तै, जिल्लाभरका सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । यसका लागि सबै स्थानीय तहहरुसंग समन्वय गरी स्वास्थ्य कार्यालयले आवश्यकता अनुसार स्वास्थ्यकर्मीहरुलाई कुनैपनि स्थानमा खटाउन सकिने निर्णय गरिएको छ । आपतकालीन अवस्थामा तत्काल प्रयोग गर्न सकिने गरी एम्बुलेन्स तयारी अवस्थामा राख्ने र जिल्लाभरका सबै एम्बुलेन्सहरुलाई आलोपालो रुपमा चौबिसै घण्टा तयारी अवस्थामा रहने व्यवस्था स्वास्थ्य कार्यालय कञ्चनपुरले मिलाउने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनु भयो ।
बैठकले कोरोना संक्रमण रोकथामको कार्यका लागि गड्डाचौकी नाका सहित अन्य स्थानमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको विवरण र काम गरेको अवधि समेत सम्बन्धित निकायले प्रमाणित गरी हरेक दिन अध्यावधिक गरी राख्ने, आलोपालो पद्धतीमा काममा लगाउने र अभाव हुन नपाउने गरी सबै निकायले योजना साथ जनशक्ति खटाउने निर्णय पनि गरिएको छ । त्यस्तै, भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित सिएमए छात्रावास भवन र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पुरानो भवनलाई तत्काल क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गर्न सकिने गरी मर्मत सम्भार गरेर तयारी हालतमा राख्न आवश्यक बजेट व्यवस्थाको लागि स्थानीय, प्रदेश र संघीय सरकारसंग आग्रह गर्ने निर्ण गरिएको छ । यसका साथै, कञ्चनपुरका सबै स्थानीय तहका प्रमुख तथा स्वास्थ्य शाखाका प्रमुख सहितको समन्वय बैठक तत्काल आयोजना गर्ने, जिल्लाभरको तयारी प्रबन्धलाई समन्वयात्मक रुपमा प्रभावकारी बनाउन आवश्यक कार्य गर्ने गरी जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण जोखिम नियन्त्रणको समन्वय सचिवालयको काम गर्ने र हरेक दिन समन्वय बैठक बस्ने निर्णय गरिएको छ ।