धनगढी, फागुन १५ – होटल व्यवसायी संघ कैलालीले आयोजना गरेको प्रथम सुदुरपश्चिम खाना महोत्सवमा मौलिक खानाका परिकारको स्वाद लिन पाउँदा ग्राहकहरु दंग भएका छन् । सुदुरपश्चिमका मौलिक परिकारको स्वाद चाख्न नपाएकाहरु फरक स्वाद लिन पाउँदा दंग भएका हुन् । विहीवारदेखि धनगढीको खुलामञ्चमा जारी खाना महोत्सवमा ग्राहकहरुले फरक स्वादका मौलिक परिकार खाईरहेको होटल व्यवसायी संघका सचिव आभेष चन्दले बताउनुभयो । यसक्षेत्रका भन्दा पनि देशका अन्य भागबाट आएका र विश्वका विभिन्न देशबाट आएका साहित्यकार अझ वढी मौलिक स्वादमा रमाईरहेको उहाँले बताउनुभयो ।
सँगै जोडिएको परिसमार विश्व नेपाली साहित्य महोत्सव भईरहँदा त्यसमा सहभागी हुन आएका साहित्यकार र अन्य मानिसहरुले फाडोलाई निकै मन पराईरहेका छन् । उनीहरुले पहिलो पटक फाडो खाँदा स्वादिष्ट लागेको प्रतिक्रिया दिईरहेका छन् । सचिव चन्दले भन्नुभयो– सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खानाका परिकारहरु, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारहरुलाई पाहुनाले चाखपुर्वक मन पराईरहेका छन् । दैनिक रुपमा एक हजार लिटर फाडो पाकिरहेको छ । सवै सिद्धिरहेको छ ।

फाडो सुदूरपश्चिमको मौलिक खानाको परिकार हो । फाडोलाई कसरी व्यवसायिकरण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेर यसलाई ग्राहकहरुले खाने परिकारको रुपमा विकास गर्नका लागि दैनिक एक हजार लिटर फाडो पाकिरहेको हो । यस क्षेत्रको परम्परागत खानपानको विषयमा गहिरो अध्ययन गरिरहनु भएका ग्लोवल नेप्लिज सेफ फेडरेसनका केन्द्रिय अध्यक्ष लक्ष्मण भण्डारी लगायतको टोलीले फाडोलाई व्यवसायिकरणका लागि काम गरिरहनु भएको छ । ठुला तारे होटेल तथा रेष्टुरेण्टमा यसलाई समावेश गर्नका लागि त्यसका लागि आवश्यक पर्ने थप सामानहरु राखेर पनि त्यसको चेकजाँच भईरहेको छ । हामी फाडोलाई कसरी बजारीकरण गर्न सकिन्छ भनेर लागिरहेका छौं । त्यसकै लागि फाडो खाएर त्यसमा फिडव्याक आओस् भनेर दैनिक रुपमा ग्राहकहरुलाई खुवाईरहेका छौं । अध्यक्ष भण्डारीले भन्नुभयो– ढिडो आज आएर महँगो मुल्यमा विक्री भईरहेको छ भने फाडो किन हुदैंन् । हामीले यसलाई पनि मौलिक परिकारको रुपमा विकास गर्नुपर्छ । त्यसका लागि हामीले पनि प्रयास गरिरहेका छौं । धनगढीमै आएर यस क्षेत्रको परम्परागत खानपानको विषयमा गहिरो अध्ययन गरिरहनु भण्डारी लगायत उहाँको टोलीले विभिन्न खानाका परिकारहरु पकाउने, हाल सम्मकै सबैभन्दा ठूलो आकारको भक्के रोटी पकाउने, सिङ्गै खसीको वार विक्यू बनाउने लगायतका फरक र नयाँ कार्यहरु पनि खाना महोत्सवमा गरिरहनु भएको छ ।

२० फागुनसम्म संचालन हुने खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशमा उपलब्ध परिकारका स्टलहरू राखिएका छन् । रैथाने खानाका पारखीदेखि आयातित खाना खान चाहनेहरूका लागि महोत्सवमा व्यवस्था रहेको आयोजक होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताउनुभयो । “सुदूरपश्चिम प्रदेशको सबै नौ जिल्लाका परम्परागत खानाका परिकार पस्किएका छौँ”, होटेल व्यवसायी संघका अध्यक्ष बमले भन्नुभयो,–“संस्कार र संस्कृति जोगाउनका लागि खाना महोत्सव सुरु गरेका हौं । प्रदेशका स्थानीय समुदायका खानाका मीठा परिकारमा गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभात, भुबुरे लगायतका परिकारहरुको स्वाद दिईरहेका छौं ।” महोत्सवमा २५ प्रदर्शनी स्टलहरुमा स्थानीय परिकारहरु राखिएका छन् । प्रायः सवै समुदायका परिकार र प्रदेशका नौ वटै जिल्लाका मौलिक खानाका परिकारहरुको स्वाद लिनका लागि जिल्लागत र समुदायगत रुपमा पनि खाना महोत्सवमा स्टलहरु राखिएका छन् । धनगढीमा वुधवारदेखि सुरु भएको ‘विश्व नेपाली साहित्य महोत्सव’सँगै खाना महोत्सवको आयोजना गरेर महोत्सवमा सुदूरपश्चिम प्रदेशको मौलिक खानाका परिकारले पाहुनाको स्वागत गरिरहेको आयोजकले जनाएको छ । ‘विश्व नेपाली साहित्य महोत्सव’मा सहभागी हुन आएका विभिन्न देशका पाहुनाहरुलाई खुवाउनका लागि एक हजार लिटरको भाडामा फाणो समेत पकाएर खुवाईरहेको होटल व्यवसायी संघ कैलालीका सचिव आभेष चन्दले जानकारी दिनुभयो ।
फागुन २० गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा हरेक दिन बेलुका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरु पनि रहनेछन भने विभिन्न प्रतियोगिताहरु पनि आयोजना गरिएछन । “परम्परागत खानपानका परिकारहरु मानव स्वास्थका लागि निकै नै लाभदायक, अर्गानिक तथा विषादी रहित छन भनेर प्रचार प्रसार गर्नु, स्थानीय स्तरमा उत्पादित अर्गानिक खाद्य वस्तुलाई उपभोग गर्ने वानीको विकास गर्नु र नयाँ पुस्तालाई मौलिक खानाका परिकारहरुको विषयका जानकारी गराउनु महोत्सवको उद्देश्य हो ।” होटल व्यवसायी संघ कैलालीका अध्यक्ष बमले भन्नुभयो,– “परम्परागत खानपान, भेषभुषा, संस्कार र संस्कृति सहित आएका स्टलहरु निःशुल्क प्रदान गरिएको छ । प्रदुषणलाई न्यूनीकरण गर्न महोत्सव क्षेत्रभित्र प्लाष्टिकजन्य वस्तुलाई निषेध गरी सम्पूर्ण खानाका परिकारहरुलाई दुना, टपरी र बोहतामा दिईरहेका छौं । यसले गर्दा वातारणीय प्रदुषण न्यूनीकरण गर्न मद्दत पुग्नेछ भने अर्को तर्फ स्थानीय स्तरमा स्थानीय स्रोत साधनको उपयोग गर्दै रोजगारीको सिर्जना हुनेछ ।”
एक सातासम्म चल्ने महोत्सवमा प्रवेश निशुल्क हुने आयोजकले जनाएको छ । महोत्सवमा एक हजार लिटरको भाडोमा फाँडो पकाउने लगायतका विभिन्न खानाका परिकारहरु पकाउने, हालसम्मकै सबैभन्दा ठूलो आकारको भक्के रोटी पकाउने, सिङ्गै खसीको वार विक्यू बनाउने, अन्र्तराष्ट्रिय स्तरका प्रशिक्षकद्धारा वार टेन्डर्स सम्बन्धी कला देखाउने लगायतका फरक र नयाँ कार्यहरु महोत्सवमा भईरहेका छन् । महोत्सवको माध्यमले यस क्षेत्रको परम्परागत खानपान, रहन सहन, भेषभुषा, संस्कार र संस्कृित उजागर हुनुका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्न र नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई आफ्नो लक्ष्य पूरा गर्न पूर्ण रुपमा सहयोग पुग्ने अपेक्षा आयोजकले राखेका छन् । खाना महोत्सव संगसंगै एउटै मैदानमा सुदूरपश्चिमञ्चल साहित्य समाजको आयोजनामा विश्व नेपाली साहित्य महोत्सव आयोजना भईरहेकोले सुदुरपश्चिमको परम्परागत खानपान, रहनसहन, भेषभुषा, संस्कार र संस्कृतिको सहज रुपमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा प्रचार प्रसार हुने होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताउनुभयो । सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरु र विभिन्न जातजातिका खानाका परम्परागत परिकारहरुको स्वाद लिने र भेषभुषा, संस्कार र संस्किृतीको अवलोकन गर्न मिल्ने साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको मनोरञ्जन पनि एकैसाथ लिन सक्ने व्यवस्था मिलाईएको छ ।
धनगढीमा सुरु भएको पहिलो सुदुरपश्चिम खाना महोत्सवको मुख्य प्रयोजक जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज रहेको छ । त्यसैगरी प्रायोजकको रुपमा ओम ट्रेड डिपार्टमेन्टल स्टोर, होटल जलसा प्रा.लि., होटल सनलाईट प्रा.लि., आफ्नो घर टेम्पल रिसोर्ट प्रा.लि. रहेका छन् ।