विश्व साहित्यमा कारागार साहित्यको विशिष्ट प्रभाव रहेको देखिन्छ। बडेबडे लेखकहरू राज्यसत्ताको कोपभाजनमा परी कारागारमा बस्नुपर्दाका समयमा जन्मिएका छन्। त्यहाँ उनीहरूले विश्वप्रसिद्ध साहित्य सिर्जना गरेका छन्।
धेरै अगाडिको कुरा गर्ने हो भने प्रसिद्ध ग्रीसेली महाकाव्यकार दाँतेलाई नै लिन सकिन्छ। उन्नाइसौं शताब्दीमा फ्योदोर दोस्तोएब्स्की र अस्कार वाइडलाई कारागार साहित्यका मानक मानिन्छ।
हिटलरको आत्मकथालाई बीसौं शताब्दीको कारागार साहित्यको महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ। सोही शताब्दीमा एन्तोनियो ग्राम्चीले कारगारमा रहँदाका टिपोटमार्फत् सांस्कृतिक प्रभुत्ववाद, धर्म, राज्य, नागरिक समाज, सांस्कृतिक पर्यावरण, राष्ट्रवाद आदिबारे गहनतम विचार प्रक्षेपण गरेको कुरा साहित्यशास्त्रदेखि सामाजिक शास्त्रसम्म बडो प्रभावशाली देखिएको छ। पछिल्लो शदीमा भारतका महात्मा गान्धी, जवाहरलाल नेहरूदेखि अफ्रिकाका नेल्सन मण्डेलासम्मका पुस्तकहरूको चर्चा हुने गर्छ।
नेपालमै पनि कारागार साहित्यका विशिष्ट नमुना उपलब्ध छन्। बिपी कोइरालाले उपन्यास, आत्मकथा, जेल डायरी कारागारमै बसेर लेखे, जो धेरै लोकप्रिय पनि छन्। पछिल्लो समयमा पञ्चायतकालमा जेल बस्दाका अनुभूति समेटेर साहित्य लेख्ने प्रयास भइरहेको देखिन्छ।
राधाकृष्ण मैनालीका संस्मरणहरू यसै कित्तामा पर्छन्। माओवादी द्वन्द्वकालमा शाही सेनाद्वारा बन्दी बनाइएका कृष्णसेन इच्छुकलगायतले पछिल्लो शसस्त्र द्वन्द्वको समयलाई कविता र निबन्धमा उतारेको पाइन्छ। धेरैजसो कारागार साहित्य संस्मरण र डायरीका रुपमा आएका छन्।
यस लेखको उद्देश्य न विश्व साहित्यमा कारागार साहित्यको के स्थान छ भनेर अध्ययन प्रस्तुत गर्नु हो न नेपाली साहित्यमा कारागार साहित्यको मूल्य के छ भनेर निरूपण नै गर्नु हो। यहाँ करिब–करिब कारागार साहित्यको नमुना बन्नसक्ने कृति जुन लेखक तथा राजनीतिज्ञ नरहरि आचार्यले लेखेका हुन्, त्यसको पाठक प्रतिक्रिया प्रस्तुत गर्ने प्रयास मात्र गरिएको छ।
तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा राज्यको कार्यकारी शक्ति हातमा लिएपछि नरहरि आचार्य २०६१ र २०६२ सालमा दुईपटक गरी करिब आठ महिना बन्दी बनाइए। यही समयावधिमा उनले कुनै झिंजो नमानिकन बडो योजनाबद्ध ढंगले दैनिकी लेखेको पाइन्छ।
सोही दैनिकीलाई सांग्रिला बुक्सले २०७५ सालमा प्र्रकाशनमा ल्यायो गणतन्त्रको यात्राः बन्दी वृतान्त शीर्षक पुस्तकमा। यसलाई बन्दीको डायरी भन्न पनि सकिएला।
नरहरि आचार्यको परिचय नेपाली कांग्रेसका नेताको रूपमा भन्दा पनि एक वैचारिक राजनीतिज्ञका रूपमा बढी प्रसिद्ध छ। उनको विचार के होरु छोटोमा भन्दा उनी कांग्रेसभित्रका पहिला गणतन्त्रवादी नेता हुन्। यस हिसाबले उनको वैचारिकता लोकतान्त्रिक गणतन्त्र हो।
बिपीलाई प्रजातान्त्रिक समाजवादका व्याख्याताका रूपमा चिनिन्छ। नरहरि आचार्यलाई लोकतान्त्रिक गणतन्त्रका व्याख्याता रूपमा चिनिनुपर्दछ। यस पुस्तकले पाठकलाई त्यो प्रभाव पार्दछ। त्यसो त आचार्यले पछिल्लो समय नेपालको राजनीति जुन मुद्दामा केन्द्रित भयो, प्रायः ती मुद्दामा आफ्नो विचार प्रकट गरेका छन्।
सूक्ष्म रूपमै किन नहोस्। उदाहरणका लागि गणतन्त्र, राज्य पुनःसंरचना, संविधान सभामार्फत् संविधान निर्माण र घोषणा, धर्मनिरपेक्षता, समावेशीता आदि राजनीतिक, सामाजिक मुद्दाबारे आचार्यले कुनै न कुनै स्तरको व्याख्या र विचार प्रकट गरेका छन्। यस पुस्तकमा बन्दी अवस्थामा रहँदाको सुक्ष्म जीवनका आयामका अतिरिक्त आचार्यले मुक्त उडानका बीच आफूले उठाइरहेको उपरोक्त विषयहको सन्दर्भपरक पुष्ट्याइँ प्रस्तुत गरेका छन्।
बन्दी अबस्थाको मनोविज्ञानमा आधारित भए पनि प्रस्तुत पुस्तकमा उनले वैचारिकताको पक्षलाई कायमै राखेका छन्। कांग्रेसका सम्बन्धमा उनका अभिव्यक्ति यसै सन्दर्भमा आएका छन्।
राजा, अन्य राजनीतिक दललाई हेर्ने दृष्टिकोण, सात दल र माओवादीबीच भएको १२ बुँदे सम्झौता र संयुक्त जनआन्दोलन यी सबै प्रकरणलाई नरहरिले आफनो विचारको परिधिभित्रै राखेर लेखाजोखा गरेका छन्।
नरहरि आचार्य नेपाली कांग्रेसभित्रका एक यस्ता नेता हुन् जसले नेपालमा गणतन्त्रको आवश्यकताबारे सबैभन्दा पहिले मूर्त रूपमा पैरवी गरे। २०५० सालतिरै उनले आफू मन्त्री छँदा राजतन्त्रको औचित्यबारे सार्वजनिक मञ्चबाट दिएको अभिव्यक्ति विवादास्पद बनेको थियो। त्यसबारे पार्टीमा उनले स्पष्टीकरणसमेत दिनुपर्यो।
२०५३ सालपछि त उनले खुलेरै गणतन्त्र, राज्य पुनःसंरचनालगायत विषयमा लिखित या मौखिक विचार व्यक्त गर्न थाले। नेपाली कांग्रेसले आंशिक रूपमा या रणनीतिक रूपमा गणतन्त्रको प्रसंग २०१२ सालतिरै उल्लेख गरेकोसमेत उनले यो पुस्तकमा उल्लेख गरेका छन्। तर, त्यसको सिलसिलेबार विकास न संस्थागत भयो न कुनै व्यक्तिले नै त्यसलाई नियमित रूपमा महत्वका साथ लिइराखे।
पचासको दशकपछि भने नरहरि आचार्यले नयाँ राजनीतिक मुद्दाकै रूपमा यसलाई बोकेका हुन्। यसको पुष्टि उनले प्रजातन्त्रका ठाउँमा लोकतन्त्र शब्दको प्रयोग गरेको प्रसंगबाट पनि हुन जान्छ। पुस्तकमा २०६२ असार ९ ९पृ। ३४५० को वृत्तान्तमा लोकतन्त्र शब्दको प्रयोगबारेको बहस आफूले २०४९ सालतिरबाटै गरेको उल्लेख छ।
नरहरिले किन पचासको दशकमै राजसंस्थाबारे पुनःविचार गर्नुपर्ने कुरा राखे रु किन गणतन्त्र चाहिन्छ भनेरु किन राज्य पुनः संरचना, धर्मनिरपेक्षता अनि समावेशी राज्यप्रणालीको वकालत गरेरु यिनै प्रश्नहरूको तथ्यपरक जवाफ उनको वृत्तान्तको मूल पक्ष देखिन्छ। यसो गर्न उनी आफू बन्दी बनाइनुपर्ने परिस्थिति कसरी सिर्जना भयो भन्ने सन्दर्भको विश्लेषण गर्छन् र, आफूले जे कुराको आवश्यकता देश र समाजलाई छ भनिरहेको हो, त्यसको हेक्का बेलैमा नेपाली कांग्रेस र राज्य सञ्चालक अन्य दलहरूलाई नभएर नै तत्कालीन परिस्थिति आइपरेको निष्कर्ष उनको छ।
तर, यति भनेरै उनी आफनो विचारको जित हुँदै गएकोमा गम खाएर बसेको भने देखिँदैन। कस्तो राजनीतिक प्रणाली नेपाली कांग्रेस र उसका सहयोद्धा राजनीतिक दलहरूले आगामी दिनमा अवलम्बन गर्नु आवश्यक छ, त्यसबारे पनि उनी मुखर छन्।
नेपाली कांग्रेसका बारेमा नरहरि आचार्यले निक्कै खुलेरै लेखेका छन्। पार्टीको ऐतिहासिक विवरण त यहाँ छैन, त्यस्तो अपेक्षा गर्न पनि मिल्दैन। तर, त्यस प्रकारका झल्को भने पाइन्छ। मूलतः २०४७ सालपछिको कांग्रेसको गति र मति अनि २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिई राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाएको घटना वरपरका सन्दर्भमा नरहरि आचार्यले स्पष्ट विश्लेषण गरेका छन्। यसै सन्दर्भमा कांग्रेस पार्टीको वैचारिकताका बारेमा उनको टिप्पणी आएको छ।
उनको भनाइमा कांग्रेस स्थापनाकालदेखि नै करिब करिब व्यक्तित्व र व्यक्तिगत उपलब्धीका निम्ति आन्तरिक संघर्षमा रह्यो । वैचारिक बहस र संघर्षले कदाचित स्थान लिनै सकेन। कांग्रेस पार्टी नीति तथा कार्यक्रम केन्द्रितभन्दा नेता र व्यक्तिकेन्द्रित भयो। स्थापनाकालका केही वर्षपछि नै बिपी र मातृकाबीच, त्यसपछि बिपी र सुवर्णबीच, अनि कृष्णप्रसाद र गिरिजा, गिरिजा र गणेशमानसम्म पनि नीति र कार्यक्रममा भन्दा बहस र संघर्ष व्यक्तिमा केन्द्रित भएको नरहरिको टिप्पणी छ ९पृ १०७ देखि १०९० । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा प्रतिनिधि सभा भंग गर्नु, नेपाली कांग्रेस पार्टी फुट्नु र पछि २०६१ माघमा राजाले सम्पूर्ण शक्ति हातमा लिएर निरंकुशता थोपर्नुमा कांग्रेसभित्रको नेताकेन्द्रित राजनीति जिम्मेवार रहेको विचार नरहरिले राखेका छन््। उनले यही मानेमा गिरिजाप्रसादको आलोचना गरेका छन्। यही मानेमै उनका विरूद्ध आफूले उम्मेद्वारी दिएको कुरा पुष्टि गर्न खोजेका छन्।
गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको व्यक्ति र सत्ताकेन्द्रित राजनीतिको विकल्पमा नीति र कार्यक्रम केन्द्रित राजनीति मार्फत वैकल्पिक राजनीतिको कसरत सुरू भएको नरहरिको भनाइ छ। यो कुनै छुट्टै राजनीतिक दल खोलेर त्यसमार्फत् गरिने वैकल्पिक राजनीतिको दावबी थिएन। यो त कांग्रेसभित्रै बहस गरेर कांग्रेसलाई नै वैकल्पिक राजनीतिको संवाहक बनाउने योजना थियो। यस प्रकरणमा शेरबहादुर देउवाको नेपाली कांग्रेस प्रजातान्त्रिक नामको अर्को दल खोल्ने प्रयत्नलाई नरहरिले खरो टिप्पणी गरेका छन्। उनका अनुसार त्यो प्रयत्नविबना ठोस विचार र कार्यक्रम अबलम्बन गरिएको थियो। त्यसमा मूलधारको कांग्रेसमा रहेका देउवाका प्रतिस्पर्धीहरूको आलाकाँचो महत्वाकांक्षाको समेत भूमिका रहेको उनको ठम्याइ छ। जब देउवाले २०६२ मा राजासँग पुनः सम्झौता गरे तत्पश्चात् नेपाली कांग्रेसभित्रै पनि वैकल्पिक राजनीतिको अन्त्य भएको निष्कर्ष उनको छ।
जनआन्दोलन चलिरहेको, आन्दोलनका मागहरू त्यति प्रष्ट नभइसकेको र पार्टी आफ्नो पुरानो विधानअनुरूप नै चलिरहेको पृष्ठभूमिमा ९पृ ११०० कांग्रेसको अबको गन्तव्य कस्तो हुनुपर्ला भन्ने स्वयम्को जिज्ञासामा नरहरिले कम्तिमा पनि तीन विषयमा कांग्रेस स्पष्ट हुनुपर्ने उल्लेख गरेका छन्। पहिलो कुरा छ–राजा वा नेपालमा राजसंस्थाको औचित्यहीनताका बारे स्पष्ट दृष्टिकोण बनाउने।
यस सन्दर्भमा लोकतन्त्रका निम्ति राजसंस्था अनिवार्य तत्व होइन भन्ने कुरामा स्पष्ट हुँदै आफ्नो विधानबाट संवैधानिक राजसंस्थाको प्रावधानलाई हटाइ पार्टीलाई लोकतान्त्रिक पार्टीका रूपमा प्रस्तुत गर्नुपर्छ भन्ने उनको विचार देखिन्छ। दोस्रो विषय छ राज्यको लोकतान्त्रिक पुनःसंरचना सम्बन्धी। केन्द्रीकृत राज्य संयन्त्रलाई पूर्णतः विकेन्द्रीकृत पार्दै हरेक तह र प्रणालीमा प्रतिनिधित्व र सहभागितालाई विस्तार गर्ने र न्यायपूर्ण बनाउने भन्ने उनको सुझाव छ। तेस्रो तथा अन्तिम कुरा छ संविधान सभामा मार्फत नयाँ संविधान निर्माण र घोषणा गर्ने।
तत्कालीन समयमा यी विषय उठाउनु धेरै जोखिमपूर्ण नै थियो। एक किसिमले भन्ने हो भने यी विषय सम्बोधन भइसक्दा पार्टी बिपी कोइरालाको विचारबाट निकै टाढा जाने पक्का थियो– कमसेकम पनि गणतन्त्रको सवालमा । तथापि, नरहरि आचार्यका लागि भने यी विषय नौला थिएनन् र, उनलाई कुनै जोखिम पनि थिएन। उनी समाज परिवर्तनको दिशा, माओवादीलगायत अन्य शक्तिहरूको उदय आदि कारणले अबको राजनीतिक दिशा या मुलकको गन्तव्य उल्लेखित विषयहरूको यथोचित सम्बोधनमै अडेको छ भन्नेमा ढुक्क देखिन्छन्।
नरहरि आचार्यले यसो गर्नु सबै हिसाबले मनासिव नै देखिन्छ किनभने उनीजस्ता व्यक्तित्वलाई बन्दी जीवन सामान्य सांसारिकताबाट माथि क्रमशः बोधी अवस्थातिरको यात्रा हो, जहाँ उनीहरू आफ्नो विचारको गहिराइसम्म पुगेर प्रतिरक्षा गर्न सक्छन्।
पुस्तकले नेपाली कांग्रेसभित्रको गणतन्त्रको यात्राको विवरण प्रस्तुत गर्छ। पुस्तकमा २०६२÷६३ को जनआन्दोलनको पृष्ठभूमि कसरी तयार भयो भन्नेबारे पनि सूचनामूलक विश्लेषण छ। तत्कालीन नेकपा माओवादीका सन्दर्भमा उनी उसको व्यक्ति हत्याकेन्द्रित राजनीति र साम्यवादी सोचका विरोधी देखिन्छन्। उक्त पार्टीले उठाएका राजनीतिक विषयमा मतभेद देखिँदैन। राजाविरुद्ध संघर्षरत सात दलले माओवादीलाई बहुदलीय लोकतन्त्रको प्रतिस्पर्धात्मक राजनीतिमा आउने प्रतिबद्धतापछि मात्रै सहकार्य र सम्झौता गर्नुपर्ने उनको अडान छ। प्रकारान्तरले यो पनि नरहरिको वैचारिकताकै पाटो हो।
समय बित्दै गएपछि कारागारमा राखिएका धेरै साथीहरू बन्दीप्रत्यक्षीकरणको प्रक्रिया मुताबिक छुटे। पार्टीको पनि त्यसप्रकारको नीति बन्यो। कतिपय अवस्थामा भने नेताहरू, उनका परिवार, साथीभाइ आदिको इच्छा र अनुरोधमा पनि कारागारबाट मुक्त हुने क्रम चल्यो। राज्यले पनि यस्तो नीति अख्तियार गर्यो। तर, नरहरि आचार्यले त्यसरी नछुट्ने प्रतिबद्धता कायम राखे। सल्लाह दिने साथीभाइ, परिवार, न्यायकर्मी शुभेच्छुकहरू सबैलाई उनले त्यो प्रक्रियामा आफू सामेल नहुन कटिबद्ध रहेको जवाफ दिए। उनको विचार राजाले आफ्नो शासनको वैधानिकता र न्यायपालिकाको स्वायत्तता पुष्टि गर्न यो कार्ड खेलेका हुन् भन्ने रहेको देखिन्छ। आफू राजनीतिक संघर्षमा आस्थाको बन्दी भएको, उक्त संघर्ष कानूनी नभएको कारणले अदालती बन्दीप्रत्यक्षीकरणकामार्फत् कारागारमुक्त हुने कुरा आफ्नो विचार विपरीत भएको कुरा २०६२ असार १८ गते उनीद्वारा प्रकाशित प्रेस वक्तव्यमा उल्लेख छ। यो अडानमा पनि नरहरिको लोकतन्त्रप्रतिको आस्था अटल रहेको बुझ्न सकिन्छ।
राजनीतिक विषयवस्तु हावी हुँदाहुँदै पनि पारिवारिक, सामाजिक सम्बन्धका विषय, बन्दी अवस्थाका भोगाइ आदि विषयहरू पूरक भएकाले पुस्तकले कलाको पुट पाएको छ। पाठकीय स्वादका हिसाबले राजनैतिक वैचारिक विषयवस्तुभन्दा अन्य विषयहरू जो पुस्तकमा आएका छन्, तिनले पठनमा फरक स्वाद थप्दछन्। श्रीमान्–श्रीमतीबीचको प्रेम त्यसमा बडो मिठासपूर्ण र कतिपय अवस्थामा कारुणिक भएर आउँछ। छोरीहरू जो विदेशमा छन्, उनीहरूसँगका संवाद वा बन्दी बाबुले गरेका सम्झनाले कतिपय क्षणमा राजनीतिक विषयलाई ओझेलमा पार्छन्।
करिब आठ महिनाको समय बन्दी बस्दा धेरै चाडपर्व बिते। रंगहरूको पर्व होली त्यही बीचमा पर्यो। त्यो वर्षको मातातीर्थ औंशी आमाको सम्झना मनमै साँचेर बित्यो। वसन्तपञ्चमी, शिवरात्री, नयाँ वर्षजस्ता धेरै चाडपर्व सम्झिएरै बिते।
पुस्तकका यी सन्दर्भहरू बढी नै साहित्यका विषयवस्तु भएका छन्। जसले पाठकलाई कुनै आख्यानको स्मरण गराउँछन्।
नरहरि आचार्यले यसो गर्नु सबै हिसाबले मनासिव नै देखिन्छ किनभने उनीजस्ता व्यक्तित्वलाई बन्दी जीवन सामान्य सांसारिकताबाट माथि क्रमशः बोधी अवस्थातिरको यात्रा हो, जहाँ उनीहरू आफ्नो विचारको गहिराइसम्म पुगेर प्रतिरक्षा गर्न सक्छन्। जसरी बिपी कोइरालाले पनि कारगारमा रहँदा लेखेका साहित्यमा गरेका छन्।