धनगढी, माघ १६- झण्डै नौ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता २०७६ को तयारी पुरा भएको छ । शुक्रवारदेखि सुरु भएर माघ २५ गतेसम्म आयोजना हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि आवश्यक सवै तयारी सकिएको आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताउनुभयो । धनगढी रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गर्नु हुने भएको छ । उद्घाटन खेलमा आयोजक फारवेष्ट पशुपति र कैलारी युथ युनाईटेड वीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै आयोजकले उद्घाटन खेलमा आयोजक र कैलारी युथ युनाईटेड भिड्न लागेको जानकारी दिएको हो । सार्वजनिक गरिएको खेल तालिका अनुसार सहभागी १५ टीमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा ८ र समुह वी मा ७ टीम रहेका छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । चौथो संस्करणको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यन अफ द म्याचले दुई हजार ७ सय नगद पाउनेछन । सवै धनराशी जोडेर आठ लाख ८४ हजार नगद पुरस्कार दिईने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ । क्लबका सचिव ललित मिश्रले प्रतियोगिता हेर्नका लागि विद्यार्थी सहुलियतको पचास र अन्य दर्शकलाई एक सय रुपैयाँ टिकट दर समेत तोकिएको बताउनुभयो । प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको छ । प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको छ ।
फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।