धनगढी, २४ पुस ।
सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएपछि कृष्णराज सुवेदी पहिलो पटक चुरे गाउँपालिकाबाट ईन्धन लिएको घट्नामा जोडिएका थिए । एक कार्यक्रममा चुरे गाँउपालिका जादा उनले गाउपालिकाबाट गाडीका लागि अत्तरीयास्थित मनिषा पेट्रोल पम्पको ईन्धनको कुपन लिएका थिए ।
यो घट्ना बाहिरिएपछि नेकपाका नेता लेखराज भट्टले सुवेदीसंग मौखिक प्रष्टिकरण सोध्नुका साथै सचेत गरेको कुरा समेत बाहिर आएको थियो ।
त्यसपछि उनी सेती प्रादेशिक अस्पतालको मेसु परिवर्तन गर्ने खेलमा जोडिए । मन्त्री सुवेदी धनगढीकै एक निजी अस्पतालका सञ्चालकको प्रभावमा परेर नवौ तहका चिकित्सकलाई मेसु बनाउन निकै लागी परे । यसमा पनि उनी आर्थिक लेनदेनमा जोडिएका थिए । तर समाचार माध्यममा उनका कर्तुत बाहिर आएपछि उनी डा।हेमराज पाण्डेयलाई मेसुबाट हटाएर डा। निरज अर्याललाई मेसु बनाउने निर्णय गर्नबाट पछि हटे ।
अर्को उनी जोडिएको घट्ना हो, ११ करोड ६५ लाख रुपैया अल्ट्रा साउण्ड खरीद प्रकरण । पहिले नै कसलाई अल्ट्रा साउण्ड खरीदको जिम्मेवारी दिने भनेर तय गरी त्यही फर्मले मात्र पुरा गर्न मापदण्ड राखेर मन्त्रालयका तर्फबाट टेण्डर निकाल्न लगाए ।
र मन्त्री सुवेदीले त्यही फर्मलाई बजार मूल्यभन्दा धेरै रकम प्रति अल्ट्रा साउण्ड १३ लाख २३ हजार रुपैया भन्दा बढि रकम हालेर सामाजिक विकास मन्त्रालयले ८८ वटा अल्ट्रा साउण्ड खरीद गरी एउटा कम्पनीलाई फाईदा पुग्ने काम गरे । यद्दपि उच्च प्रबिधिका अल्ट्रा साउण्ड खरीद गरिएको मन्त्री सुवेदीको दावी छ । तर त्यो अल्ट्रासाउण्ड चलाउन सक्ने न त स्वास्थ्यमा कर्मचारीको उपलब्धता छ । न त ती अल्ट्रासाउण्ड प्रयोगमा ल्याउन सक्ने स्वास्थ्य संस्थाहरुको अवस्था ।
बिरामी जाँच्ने अल्ट्रा साउण्ड उच्च प्रबिधिको खरीद गर्न महंगो रकम तिरेको दावी गर्ने मन्त्री सुवेदीले बिरामी बोक्ने एम्बुलेन्समा चर्को रकम खर्च गरे, त्यो पनि कामै नलाग्ने ६ वर्ष पुराना मिनि ट्रकलाई एम्बुलेन्स बनाएर किने ।
समग्र स्वास्थ्य संस्थामा सुधार ल्याउन खटिनु पर्ने तिनै मन्त्री सुवेदीले सेती प्रादेशिक अस्पतालको सुधारमा खटिएका डा। पाण्डेयलाई हटाउन निकै कोसिस गरे । उनलाई प्रादेशिक अस्पतालको मेसुबाट हटाएर टीकापुर अस्पतालको मेसु भएर जान दवाव समेत दिए । उनलाई यति पनि थाह भएन कि डा। पाण्डेय कति तहका चिकित्सक हुन्, र टीकापुर अस्पतालमा कति तहको मेसु हुने व्यवस्था छ ।
यद्दपि मन्त्री सुवेदीले पनि केही समयअघि मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी आफूले गलत काम नगरेको दावी गरेका थिए ।
र उनी मुख्यमन्त्री कपमा पनि आर्थिक बिबादमा मुछिएका थिए । तीन दिनको प्रतियोगितामा पाँच करोड बढि खर्च गर्दा सहभागीसंख्या भन्दा पाँच गुणा बढिलाई भत्ता दिएको उनीमाथि आरोप लागेको थियो ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेश सरकारलाई छलेर पुराना मोडेलका एम्बुलेन्स खरीद गरेको खुलासा भएको छ ।
टाटाका पुराना मोडेलका मिनि ट्रक एम्बुलेन्सका लागि उपर्युक्त नहुने भएकोले ती गाडी खरीद नगर्न सुझाव दिएपनि सामाजिक विकास मन्त्रालयले आफ्नो मर्जीमा ती गाडीहरु खरीद गरेको र पछि मात्र त्यसका बारेमा थाह भएको सरकारकै एक मन्त्रीले बताएका छन् ।