सभापति शेरबहादुर देउवाको निर्णयको खिलाफमा रहेका असन्तुष्ट समूहले पुस २१ गते जिल्ला सभापतिको भेला आव्हान गरेका छन्।
सभापति देउवाले आज १ बजेका लागि बोलाएको बैठक बहिस्कार गरेका असन्तुष्ट समूहले पुस २१ गते हुने जिल्ला सभापति भेलाका तयारीका लागि आवश्यक निर्णय लिनेछन्।असन्तुष्ट समूहका केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार पुस २१ गते हुने जिल्ला सभापतिको भेला परामर्शमा केन्द्रित हुनेछ।
‘केन्द्रीय समिति बैठकमा देखिएको बिबाद मिलाउनका लागि २१ गते जिल्ला सभापति भेला आव्हान गरिएको छ,’ गुरुङले भने, ‘त्यो भेलाका परामर्शअनुसार हामी अघि बढ्नेछौं, त्यसैका लागि ३ बजे हाम्रो बैठक बस्दैछ।’ उनका अनुसार उक्त बैठकले सो भेलालाई कसरी व्यवस्थित बनाउने भन्ने बारेमा विस्तृत छलफल गर्नेछ।
गत पुस ११ गते सभापति देउवाले ‘बहुमतको बलमा विधान मिचेर निर्णय लिएको’ भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलगायतले केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएका छन्। गत मङ्सिर २६ गतेदेखि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको उक्त समूहलाई ‘इग्नोर’ गरेर सभापति देउवाले बहुमतका आधारमा २०७७ फागुन ७ मा महाधिवेशन गर्नेलगायतका निर्णय गरेका थिए।
क्रियाशील सदस्यता वितरणका विषयमा विधानका कतिपय धारा निलम्बन गरेर देउवाले निर्णय लिएको भन्दै निरन्तर उक्त समूहले बैठक बहिस्कार गर्दै आएका छन्। राष्ट्रियसभा सदस्य चयनका लागि भन्दै सभापति देउवाले बोलाएको बैठक बहिस्कार गरेको उक्त समूहले पुस २१ गते जिल्ला सभापतिहरूको अलग्गै भेला बोलाएको हो। ‘जबसम्म निर्णय सच्याइदैन, सभापतिले बोलाएको कुनै पनि बैठकमा जान्नौं’ सिंहले भन्दै आएका छन्।
देउवाको निर्णय नसच्चिएसम्म समानान्तर गतिविधि गर्ने घोषणा गरेको उक्त समूहले पहिलो पटक सभापति भेला आव्हान गरेको हो। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने उक्त भेलामा पौडेल, कोइराला, सिटौला र सिंह निकट जिल्ला सभापतिहरू आउनेछन्।