एजेन्सी। पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई मृत्यदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको विशेष अदालतले मंगलबार पूर्वराष्ट्रपति तथा सेना प्रमुख मुसर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाएको हो ।
पाकिस्तानको अदालतले उच्चपदस्थ व्यक्तिलाई पाकिस्तानको इतिहासमै पहिलोपटक मृत्युदण्ड सजाय सुनाएको हो । पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको नेतृत्वमा रहेको विशेष अदालतको ३ सदस्यीय बेन्चले मंगलबार मुसर्रफलाई मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन् । द न्यूजका अनुसार मुशर्रफलाई पाकिस्तानको संविधानको धारा ६ अनुसार दोषी ठहर गरिएको हो।
द एक्सप्रेस ट्रिब्यूनका अनुसार तीनमध्ये दुई न्यायाधीश मृत्युदण्डको पक्षमा रहेका थिए। सो इजलासमा सेथ, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिम रहेका थिए। यो आदेशको पूर्णपाठ ३८ घण्टामा जारी गरिने द एक्सप्रेस ट्रिब्यूनले बताएको छ। मुर्सरफ अहिले पाकिस्तानमा छैनन् । उनी स्वास्थ्य उपचारका लागि यूएईको दुबईमा छन् ।