२०७६ आजको पत्रपत्रिकामा नेपाली कांग्रेसको बैठकको विवाद, नेकपालाई सभामुख छान्न सकस लगायत समसामयिक समाचार आजको प्राथमिकतामा परेका छन् । कान्तिपुर दैनिकले खप्तडमा गडबड भएको समाचारलाई प्रमुख समाचार बनाएको छ ।
कान्तिपुरले ‘खप्तडमा गडबड’ शीर्षक दिएर पछिल्ला १२ वर्षमा यो क्षेत्रमा छुट्याइएको बजेट र यहाँको पूर्वाधार निर्माणको अवस्थाबारे खोजमूलक सामग्री छापेको छ । कान्तिपुरका अनुसार मनोहर छटा र सांस्कृति वैभव खप्तडमा पूर्वाधार र अन्य सुविधा विस्तार गर्न पछिल्लो १२ वर्षमा ५२ करोड रुपैयाँ खर्च भइसके पनि त्यहाँ गोरेटो बाटोसम्म निर्माण भएको छैन । पछिल्ला १२ वर्षमा खप्तडका लागि छुट्याइएको बजेटमा अनियमितता भएको कान्तिपुर समाचारको सार छ ।
‘प्राप्तप सूचना विश्लेषण गर्दा खप्तड क्षेत्रको विकासमा भएको लगानीमा अनियमितता भएका अनगिन्ती उदाहरण भेटिएको छ’, कान्तिपुरले अनियमितताका उदाहरण प्रस्तुत गर्दै समाचारमा लेखेको छ । कान्तिपुरकै भित्री पृष्ठमा नेपाल भित्रिएका विभिन्न देशका शरणार्थीबारेको एक सामग्री पनि छन । समाचार अनुसार, नेपालमा ९ देशका शरणार्थी छन् । नेपाल प्रवेश गर्नेमा पाकिस्तान, अफगानिस्तान, म्यानमार, श्रीलंका, इराक, इरान, सोमालिया र कंगोका शरणार्थी छन् । यूएनएचसीआरका अनुसार यी सबै ९ देशका शरणार्थीको संख्या ६ सय ४२ छ । यसमध्ये म्यानमारका रोहिंग्यामात्रै ३ सय ५० छन् । शरणार्थी मान्यताका लागि ५ देशका ४२ जनाले आवेदन दिएका छन् ।
कान्तिपुरमै कांग्रेसका केन्द्रीय पदाधिकारीसहित सदस्यहरुको कार्यकाल सकिन लाग्दा पनि सभापति शेरबहादुर देउवाले १द्ध औं महाधिवेशनको कार्यतालिका तय गर्न नमानेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विहीबार केन्द्रीय समिति बैठक बहिष्कार गरेको समाचार प्राथमिकताका साथ छापिएको छ ।
अन्नपूर्णका अनुसार राष्ट्रका नाममा शपथ नखाएका तर सुझाव दिनमात्र सम्बन्धित क्षेत्र तोकिएका प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापाले कर्मचारीलाई बोलाएर पालैपालो प्रवचन दिएका हुन् ।
नागरिक दैनिकले नेकपालाई सभामुख छान्न सकस भएको समाचारलाई प्राथमिकताका साथ छापेको छ । नागरिक लेख्छ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सभामुखको उम्मेदवार छान्न सकस भएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अधिकार दिए पनि अहिलेसम्म उनीहरुले टुंगो लगाउन नसकेका हुन् । दुवै अध्यक्ष आफूनिकट व्यक्तिलाई सभामुखको जिम्मेवारी पु¥याउने रणनीतिमा तल्लीन रहँदा रिक्त सभामुखमा पार्टीका तर्फवाट कसलाई अघि सार्ने भन्ने टुंगो लाग्न नसकेको हो ।
नयाँ पत्रिका दैनिकले नक्सापासविना बालुवाटारमा प्रधानमन्त्रीनिवास, सिंहदरबारमा संसद् भवन र भैँसेपाटीमा मन्त्रीनिवास बन्दै गरेको समाचार लेखेको छ । बालुवाटारमा दुई रोपनी जग्गामा ४० करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दै छ, जसको २० प्रतिशत काम सकिएको छ । सिंहदरबारको पुतलीबगैँचाको १७३ रोपनीमा ६ अर्ब ९२ करोड लगानीमा संसद् भवन बन्दै छ । त्यस्तै भैँसेपाटीमा १२५ रोपनी जग्गामा ९७ करोड लगानीमा मन्त्रीनिवास बन्दै छ । प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै नक्सापास नगरी काम धमाधम भइरहेको छ ।
नक्सापासविना भवन बन्न थालेकोमा विरोध गर्दै भैँसेपाटीका स्थानीय बासिन्दा महानगरपालिका पुगेर विरोध गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीनिवास भत्काएर नयाँ भवन बन्दै छ । तर, करिब २० प्रतिशत काम पूरा हुँदासमेत नक्सापास भएको छैन । प्रधानमन्त्रीनिवास मात्रै होइन, सिंहदरबारमा संसद् भवन र भैँसेपाटीमा मन्त्रीनिवास पनि नक्सापास नगरी बन्दै छन् । प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै ठेकेदारले तीव्र गतिमा काम गरिरहेका छन् ।
