काठमाडौं । नेपाली खेलकुद इतिहासमा सबैभन्दा सफल खेल र खेलाडीका रूपमा नेपालको तेक्वान्दो स्थापित छ। अन्तर्राष्ट्रिय सहभागिताका क्रममा पनि नेपालको तेक्वान्दोबाट सबैले पदकको आशा गर्ने गर्छन्।
आशा राख्नु स्वाभाविक पनि छ। नेपालका तेक्वान्दो खेलाडीले दक्षिण एसियाली र एसियाली खेलकुदको प्रतिस्पर्धामा नेपाली खेलकुदलाई राम्रो नतिजा दिलाइसकेका छन्। छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई खेलाडी तेक्वान्दोकै संगीना वैद्य र दीपक विष्ट हुन्। ओलम्पिकमा राखिएको डेमोस्ट्रेसन खेलमा पनि तेक्वान्दोका विधान लामाले सन् १९८८ मा कांस्य पदक दिलाएका थिए। यता, एसियाली खेलकुदमा पनि नेपालका तेक्वान्दो खेलाडीले सर्वाधिक सफल नतिजा दिलाएको इतिहास अभै पनि ताजै छ।
नेपालका लागि एसियाली खेलकुदमा व्यक्तिगत विधातर्फ एक मात्र रजत पदक जित्ने तेक्वान्दोकै सविता राजभण्डारी हुन्। राजभण्डारीले सन् १९९८ को एसियाडमा उक्त पदक जितेकी थिइन्। टिमतर्फ भने इन्डोनेसियामा सम्पन्न गत १८औं एसियाडमा नेपालको प्याराग्लाडिङ टिमले रजत पदक दिलाएको थियो। एसियाली खेलकुदमा नेपाली तेक्वान्दो खेलाडीले सर्वाधिक १४ पदक ल्याउँदा एक रजत पदक पनि समावेश छ। दक्षिण एसियाली खेलकुदमा पनि तेक्वान्दोले नेपालका लागि सर्वाधिक सफल नतिजा दिँदा हालसम्म २४ स्वर्ण, १४ रजत र ८ कांस्य पदक दिलाएका छन्।
नेपालको तेक्वान्दाले घरेलु मैदानमा २० वर्षअगाडि सम्पन्न आठौं साफबाट मात्र सहभागिता जनाउन थालेको हो। त्यसयता, बंगलादेशमा सम्पन्न ११औं सागसम्म नेपाली तेक्वान्दो खेलाडीले स्वर्ण पदक जितेका छन्। तर, १२औं सागमा भने तेक्वान्दोका खेलाडीले आफ्नो विरासत जोगाउन सकेनन्। भारतमा सम्पन्न गत संस्करणमा कुल १० खेलाडी सहभागी हुँदा नेपालका ७ खेलाडी फाइनलमा पुगे पनि स्वर्ण जित्नबाट चुकेका थिए। थप तीनले खेलाडीले भने कांस्य जितेका थिए। घरेलु मैदानमा २० वर्षपछि हुन लागेको सागमा भने नेपालले फाइट र पुम्से दुवै विधातर्फ प्रतिस्पर्धा गर्दै छ।
आगामी आइतबारदेखि सुरु हुने १३औं सागदेखि पुम्से विधा राखिएको हो। आगामी सोमबारदेखि तेक्वान्दोका प्रतिस्पर्धा सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा सुरु हुनेछ। नेपालले तेक्वान्दोको कुल २९ स्वर्णमध्ये फाइटमा १६ तौलसमूह र पुम्सेमा १३ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ। गत एसियाडदेखि पुम्से विधा अफिसियल प्रतिस्पर्धामा सुरु हुँदा सागमा प्रतिस्पर्धा गराइन थालिएको हो। यस पटक पनि नेपाली तेक्वान्दोबाट स्वर्णको आशा बढी मात्रामा गरिएको छ। नेपाल तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले लामो समयदेखि तयारी गरेकाले यस पटक राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।