सुदूरपश्चिम प्रदेशको बर्खे अधिवेशन सकिएको तीन महिना बित्दा पनि प्रदेशसभा सञ्चालन हुन सकेको छैन ।
सभा सञ्चालनका लागि विजनेस नरहेकाले हिउँदे अधिवेशन सुरु गर्न नसकिएको हो । प्रदेशसभाको बर्खे अधिवेशन भदौ १ गते सकिएको थियो । अहिले प्रदेशसभा विजनेसविहीन रहेको छ ।
प्रतिपक्ष नेपाली काँग्रेसले मुख्यमन्त्रीसंग सभा छिट्टै सञ्चालन गर्न आग्रह गरेको भएपनि सरकारले कुनै चासो नदेखाएको बताउदै आएको छ । सतापक्षका सासदहरुले भने सभा सञ्चालन सम्बन्धि कुनै पनि छलफल नै नभएको जिकिर गरेका छन् । प्रदेश सरकारले काम दिन नसक्दा प्रदेशसभा बैठक बस्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठक कहिले सुरु हुने विषयमा सत्तापक्षकै प्रदेशसभा सदस्य अन्यौलमा छन् । सरकारले विजनेस दिन ढिलाइ गर्दा अधिवेशन अन्यौलमा परेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ससदीय दलका प्रमुख सचेतक तारालामा तामाङले बताए । आफूहरुले सरकारलाई छिटो विजनेस दिन आग्रह गर्दै आएको उनले बताए ।
प्रतिपक्ष नेपाली काँग्रेसे पनि सरकारलाई संसद सञ्चालन गर्न दबाब दिइरहेको जनाएको छ । ससदीय दल नेता डा. रणबहादुर रावलले मुख्यमन्त्रीलाई भेटेर संसद सञ्चालनको लागि पटक–पटक आग्रह गरेको बताए ।
प्रदेश सरकारले काम दिन नसक्दा प्रदेश सभा बैठक बस्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ । सरकारको आधिकारीक पत्र नआएकाले प्रदेश सभा बैठक कहिले सञ्चालन हुन्छ भनेर बारेमा आफुहरु लाई जानकारी नभएको प्रदेश सभा सचिवालयका प्रवक्ता सिद्धराज चटौतले बताए । यसै महिना भित्र चल्न सक्ने सम्भावना रहेको उनी बताउँछन् ।