धनगढी, ६ मसिंर ।
मोहना नदीमा निर्माण भइरहेको मोहना–राजघाट पुल छ वर्षसम्म पनि बन्न सकेको छैन । निर्माण कम्पनीको लापरवाहीका कारण पुल निर्माणमा धेरै ढिलाइ भएको हो । तीन वर्षमा बन्नु पर्ने मोहना–राजघाट पुल छ वर्ष पुग्दासम्म नबनेपछि जरिवाना लिएर निर्माण कम्पनीलाई काम गराउने तयारी थालिएको छ ।
म्याद थप गर्दासमेत पुल नबनेपछि अब जरिवाना लिएर काम गराउने तयारी गरिएको हो । एक पटक म्याद थप भइसकेकाले अब म्याद थप नहुने सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी लक्ष्मण जोशीले बताए । ‘अब कुनै पनि हालतमा म्याद थप हुँदैन, किनभने, म्याद थप गर्नु पर्ने कुनै कारण छैन’, उनले भने–‘निर्माण कम्पनीले विशुद्ध लापरवाही गरेकाले अब हर्जाना तिरेर उसले जसरी पनि काम सम्पन्न गर्नु पर्छ ।’
अहिलेबाटै निर्माणको काम थालेमा यो आर्थिक मसान्तसम्म पुल निर्माण हुने सडक डिभिजन कार्यालयले जनाएको छ । मोहना नदीमा निर्माण भइरहेको सो पुलको छ वर्षसम्म एउटा स्पानमात्रै तयार भएको छ । अझै दुई वटा स्पान बनाउन बाँकी रहेको छ । पुल निर्माणका लागि थप गरिएको म्याद गत असार मसान्तमा सकिएपछि निर्माण कम्पनीले भने पुनः म्याद थप गराउने प्रक्रियालाई अगाडि बढाएको छ । कम्पनीले त्यसको लागि सडक डिभिजन कार्यालयमा फाइलसमेत पेस गरेको छ ।
तर, म्याद थप गर्नु पर्ने कुनै आधार नरहेको सूचना अधिकारी जोशीले बताए । ‘अब ठेकेदारले हर्जाना तिरेर काम गर्नुको विकल्प छैन’, उनले भने–‘म्याद थप हुँदैन । बरु, काम भएन भने कारबाहीको प्रक्रिया अगाडि बढाउँछौ ।’ धनगढी उपमहानगरपालिकाको चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई जोड्ने गरी मोहना नदीमा निर्माण भइरहेको सो पुलको लम्बाइ १२० मिटर रहेको छ । पुल निर्माणका लागि आर्थिक वर्ष २०७०÷०७१ मा ठेक्का भएको थियो । पुलको कुल लागत सात करोड ४५ लाख रुपियाँ रहेको छ ।
चन्द्रशेखर मल्लको निर्माण कम्पनी एलाइट एडभेञ्चर जेभीले ठेक्का पाइ २०७१ बाट काम सुरु गरेको थियो । तर, तत्कालीन समयमा यहाँ भएको आन्दोलन, नाकाबन्दी लगायतका कारणले तदारुकताको साथ काम गर्न नसकेको निर्माण कम्पनीले पनि स्वीकार गर्दै आएको छ ।
आर्थिक वर्ष २०७२÷०७३ मा पुल सम्पन्न गर्नु पर्नेमा कम्पनीले थोरैमात्रै काम ग¥यो । पुनः म्याद थप गर्दा पनि पुल तयार हुन सकेन । म्याद थप गर्दा निर्माण कम्पनीले लापरवाही गरेको सडक डिभिजन कार्यालयको ठहर छ ।
म्याद थपको प्रक्रिया अगाडि बढाएको निर्माण कम्पनीले पुलको बाँकी काम गर्नका लागि तयारी गरिरहेको छ । सो कम्पनीले दोस्रो स्पानको काम गर्नका लागि ¥याम बनाउने कार्य गरिरहेको छ । यसैगरी, निर्माण सामग्री पनि पुल निर्माण स्थलमा ओसारिसकेको छ ।
एउटा स्पानमा माटो ‘फिलिङ’ र निर्माण सामग्री राख्ने कार्य भइरहेको निर्माण कम्पनीका इञ्जिनीयर दिनेश बटालाले बताए । ‘यो वर्ष दुई वटै स्पानको कामसंगै गर्ने कुरो भएको छ’, उनले भने–‘म्याद थप नभए पनि हामी काम गर्छौ ।’
म्याद थप गराउनका लागि प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै उनले भने–‘म्याद थप भएन भने हाम्रो ठेक्का सम्झौता जति भएको छ, त्यसबाट हर्जाना कटाएर काम गर्छौ ।’ आगामी चैत मसान्तसम्ममा निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको इञ्जिनीयर बटालाको भनाइ छ । ‘हाम्रो टार्गेट चैतसम्म हो’, उनले भने–‘यो वर्ष काम गर्नका लागि कामदार पनि नयाँ राख्दैैछौं ।’
स्थानीयलाई समस्या

मोहना नदीमा पुल नबन्दा स्थानीयले समस्या भोग्दै आएका छन् । पुल नभएका कारणले उनीहरु बर्खा याममा चर्को शुल्क तिरेर डुङ्गामार्फत नदी वारपार गर्ने गरेका छन् । हिउँदमा भने काठे पुल तरेर ओहोर दोहोर गर्नु पर्ने बाध्यता रहेको छ ।
‘डुङ्गा होस वा काठे पुल जे मार्फत नदी तर्दा पनि हामीले चर्को शुल्क तिर्नु पर्छ’, कृष्णपुर नगरपालिका–९ पिपरियाका स्थानीय बहादुर रानाले भने–‘पुल नबन्दा धेरै गाह«ो छ ।’ उनी तरकारी बिक्रीका लागि दैनिक धनगढीसम्म आउने गर्दछन् ।
समयमा पुल नबनेपछि आफूहरुले धेरै समस्या भोग्दै आए
कृष्णपुर नगरपालिका–९ पिरैयाकै सहरी चौधरीले बताइन् । ‘कोही बिरामी परेमा यो बाटो भएर जानै सकिन्न’, उनले भनिन् । यस्तै, जयकला तिरुवाले पुल नबन्दा शुःल्क तिरेर काठे पुल र डुङ्गा तर्नु पर्ने बाध्यता रहेको सुनाइन् । ‘दिनकै ओहोर दोहोर गर्नु पर्दछ’, उनले भनिन्–‘पुल नबन्दा पैसा तिरेर काठे पुल र डुङ्गा तर्दै आएका छौं ।’
बर्खामा डुङ्गामार्फत नदी तर्दा स्थानीयले सय रुपैयाँसम्म शुल्क तिर्ने गरेका छन् । यसैगरी, काठे पुलमा मान्छेकोमात्रै पाँच, साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ लिने गरिएको छ । निर्माणाधीन मोहना राजघाट पुलको नजिकै काठे पुल बनाइएको छ । पुल तरे वाफत राजघाटबाहेक बाँकी सबै गाउँका स्थानीयले शुल्क तिर्नु पर्दछ ।