सरकारी अस्पताल र स्वास्थ्य संस्थामा डेंगुको परीक्षण निःशुल्क भए पनि बिरामी निजी अस्पतालमा चर्को शुल्क तिरेर उपचार गराइरहेका छन् । सरकारीमा निःशुल्क जाँचबारे जानकारी नपाउँदा सर्वसाधारण चर्को शुल्क तिरेर निजीमा जाँच र उपचार गराउन बाध्य छन् ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा डेंगु जाँच निःशुल्क छ । सेतीमा निःशुल्क गरिने जाँच बिरामीहरूले निजी मेडिकलमा भने एक हजार दुई रुपैयाँभन्दा बढी तिरेर गरिरहेका छन् । कम्पनीअनुसार तीनदेखि पाँच सय रुपैयाँसम्म पर्ने डेंगु जाँच गर्ने कीटलाई निजी अस्पतामा एक हजारभन्दा बढी लिएर जाँच गर्ने गरिएको छ ।
सेतीमा हालसम्म दुईजना डेंगुका बिरामी मात्रै भर्ना भएका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । तर, धनगढीमा रहेका आधा दर्जन अस्पतालमा दैनिकजसो डेंगुका बिरामी उपचारका लागि भर्ना हुने गरेका छन् ।
कैलालीमा २५ जनामा डेंगु
सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार जिल्लामा हालसम्म कैलालीमा २५ जनामा डेंगु देखिएको छ । सेतीबाहेक थप ६ जनाले टीकापुर अस्पतालमा र बाँकीले निजी अस्पतालमा उपचार गराएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।
सरकारीमा निःशुल्क जाँचको सुविधाबारे जानकारी नहुनु र सरकारी स्वास्थ्य संस्थाप्रति विश्वास कम हुनुले पनि बिरामी निजी अस्पतालमा जाने गरेको स्वास्थ्य क्षेत्रमा काम गर्नेहरू बताउँछन् । प्रदेश सरकार र स्थानीय तहहरूले डेंगु नियन्त्रण र उपचारका लागि विभिन्न कार्यक्रम गरिरहेका छन् तर डेंगुको जाँच र उपचारबारे सर्वसाधारणले जानकारी पाउन सकेका छैनन् ।
धनगढीको एक निजी अस्पतालमा उपचार गराइरहेका डेंगु संक्रमित घोडाघोडी नगरपालिका–२, साढेपानीका धनीराम सत्गौवाले सरकारी अस्पतालमा डेंगुको परीक्षण निःशुल्क हुन्छ भन्नेबारे आफूले जानकारी नपाएको बताए ।
‘बिरामले निकै च्यापेको थियो, निजीमा राम्रो हुन्छ भनेर यता आएँ,’ उनले भने, ‘तीन दिनमा १५ हजार खर्च भइसक्यो, अझै कति हुने थाहा छैन ।’ ज्वरो आउने, टाउको, हातखुट्टा दुख्ने भएपछि स्थानीय मेडिकलमा गएको र मेडिकलले निजी अस्पताल पठाएको उनले बताए । डेंगु जाँच गरेको मात्रै एक हजार दुई सय तिरेको उनले बताए । ‘सरकारीमा राम्रो सुविधा भए यति खर्च गरेर निजीमा आउने थिइनँ,’ सत्गौवाले भने ।
धनगढीकै एक निजी अस्पतालमा डेंगुबाट संक्रमित दुई वर्षीय छोराको उपचार गराइरहेकी कञ्चनपुर महेन्द्रनगरकी कमला चन्दले उपचारमै १० हजार रुपैयाँ खर्च भएको बताइन् । सरकारी अस्पतालमा डेंगुको निःशुल्क जाँच हुनेबारे जानकारी नपाएको उनले भनिन् ।
‘ज्वरो आएपछि यता लिएर आएँ, चेक गराउँदा डेंगु देखियो,’ उनले भनिन्, ‘चेकजाँच र औषधिमै १० हजार सकियो, पर्सि डिस्चार्ज गर्ने भनेको छ, बेडजार्च दिन बाँकी नै छ ।’ सरकारीमा राम्रो सेवा नपाइने भएकाले निजीमा आएको उनको भनाइ छ ।
डेंगु, स्क्रब टाइफसका बिरामी बढ्न थालेपछि कतिपय निजी अस्पतालहरूले सरकारीबाट बिरामी तान्न कर्मचारी नै खटाएको बताइएको छ । सेतीमा आउने बिरामीलाई कमिसनको लोभमा अस्पतालकै कतिपय कर्मचारी पनि निजीमा जान प्रोत्साहन गर्ने गरेको आरोप लाग्दै आएको छ । बिहीबारसम्म सुदूरपश्चिममा डेंगु संक्रमितको संख्या ५३ पुगेको छ ।
स्क्रब टाइफसबाट थप एकको मृत्यु
स्क्रब टाइफसबाट सुदूरपश्चिममा थप एक जनाको मृत्यु भएको छ । बझाङको बित्थडचिर गाउँपालिकाकी २२ वर्षीया सरस्वती सिंहको मृत्यु भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
भारतको बरेलीमा उपचारका क्रममा उनको मृत्यु भएको मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । आफन्तका अनुसार उनलाई उपचारका लागि २४ भदौमा धनगढीको निःसर्ग अस्पतालमा भर्ना गरिएको थियो । ६ दिनसम्म उपचार गरेपछि निःसर्ग अस्पतालले उनलाई थप उपचारका लागि अन्यत्र लैजान रेफर गरेको थियो ।
यसअघि गत साता स्क्रब टाइफसबाट धनगढीको गेटामा बस्ने १५ वर्षीय भरत खातीको मृत्यु भएको थियो । सुदूरपश्चिममा स्क्रब टाइफसको संक्रमण भयावह रुपमा फैलदै गएको छ । हालसम्म एक सय ३८ जनामा यो रोग देखापरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नयाँ पत्रिका बाट