कञ्चनपुरबाट एक करोड २२ लाख बजेट फिर्ता
कञ्चनपुर,
कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको एक करोड २२ लाख रुपैया फिर्ता भएको छ । समयमै काम शुरु गर्न नसकेपछि ९ वटै स्थानीय तहको उक्त रकम फिर्ता भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गत आर्थिक बर्ष २०७५÷०७ ६मा ४ करोड २ लाख रुपैया आएको थियो ।
जसमध्ये २ करोड ८० लाख रुपैयमा मात्रै खर्च भएको छ । पुनर्वास र लालझाडी गाउँपालिकाले पुरै खर्च गरेका छन् । लालझाडीको १९ लाख र पुनर्वासको ५० लाख रकम आएको थियो । उक्त स्थानीय तहमा समयमै काम शुरु भएकाले पुरै रकम खर्च भएको हो । पुनर्वास नगरपालिकाका रोजगार संयोजक चन्दले दिपक बहादुर चन्दले समयमै काम शुरु भएकाले पुरै रकम खर्च भएको बताए । उनका अनुसार १२ वटै वडामा सडक मर्मत, सरसफाई तथा नाला खनिएको छ ।
बेलडाँडी गाउँपालिकामा ३३ हजार मात्रै फिर्ता भएको छ । कुल १९ लाखको बजेट मध्ये बेलडाँडीमा १८ लाख, ६७ हजार खर्च भएको हो । बेलडाँडीका रोजगार संयोजक कृष्ण बहादुर चन्दले समयमै योजना छनौट हुँदा कार्यान्वयनमा आएकाले केही बजेट मात्रै खर्च भएको बताए । भीमदत्त नगरका एक करोड मध्ये ५८ लाख, ६३ हजार, बेदकोट नगरमा ६ लाख, शुक्लाफाँटा नगरका ३ लाख, बेलौरीमा २२ लाख र महाकाली नगरपालिकामा ४ लाख, ५० हजार फिर्ता भएको छ । बेलौरी र पुनर्वासमा लक्ष्य भन्दा बढिलाई रोजगार दिईएको छ । पुनर्वासमा २३ सय र बेलौरीमा ७ सय ६३ लाई रोजगारी दिईएको छ । पुनर्वासमा २ सय २६ र बेलौरीमा २ सय ३ जनालाई रोजगारी दिने लक्ष्य थियो । बेलौरीका रोजगार संयोजक नरेश विष्टले लक्ष्य २ सय ३ जनालाई रोजगार दिने भनेपनि समय अपुगका कारण बढिलाई रोजगारी दिईएको बताए । उनका अनुसार गत बर्ष कम्तिमा ३० दिने रोजगारी दिने समय थियो, तर सो दिन नसकिएपछि बढि व्यक्तलाई छोटो समयका लागि रोजगारी दिएको बताए ।
कृष्णपुर नगरपालिकामा कार्यक्रम संचालन भएन
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भने गत बर्ष प्रधानमन्त्री कार्यक्रम नै संचालन हुन सकेन । समयमै वडाबाट योजना छनौट नहुँदा कृष्णपुरमा कार्यक्रम संचालन हुन नसकेको हो । कार्यक्रम संचालन हुन नसक्दा कृष्णपुरको पुरै ५१ लाख बजेट फिर्ता भएको छ ।
कृष्णपुरका रोजगार संयोजक रमेश प्रशाद भट्टले वडाबाट योजना छनौट नहुँदा कार्यक्रम संचालन गर्न नसकिएको बताए । उनका अनुसार समयमै वडालाई योजना छनौटका लागि जानकारी दिदा समेत वडाबाट योजना छनौट नहुँदा कार्यक्रम नभएको बताए । उनले चालु आर्थिक बर्षमा सयमै योजना छनौटका गरिने बताए ।
कञ्चनपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तरगत झण्डै ५५ हजारले बेरोजगार फारम परेका थिए । प्रधानमन्त्री रोजगार कार्यक्रम समयमै र प्रभावकारी ढङगको संचालनमा स्थानीयले जोड दिएका छन् । सरकारले नागरिकको समाजिक सुरक्षाका लागि गत आर्थिक बर्षदेखि उक्त कार्यक्रम संचालनमा ल्याएको हो ।
नयाँ पत्रिकाबाट
