भिम चौधरी,
रुरु, २६ भाद्र-
काशी गयौं, गया गयौं, गयौं चारै धाम ।
रुरु धामको सबैभन्दा ठूलो रैछ नाम ।।
भन्ने कथन सहित ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महामहोत्सव संगीतमय लिलाधाम श्रीमद्भागवत एव पितृ मोक्ष बिराट ज्ञान महायज्ञ २०७६ हुने भएको छ । सोह् श्राद्धको अवसरमा नेपालमा पहिलो पटक दिवंगत पितृहरुको उद्धार गर्ने र रुरु क्षेत्र धामलाई विश्व सामु पहिचान गराउँने उदेश्यले पितृ मोक्ष बिराट ज्ञान महायज्ञको आयोजना गर्न लागिएको हो । इहि भाद्र २८ गतेदेखि असोज १७ गतेसम्म आयोजना हुने महायज्ञमा चर्चित श्रीमद्भागवत कथा प्रवचक वालयोगेश्वर महाराजले कथा बाचन गर्नुहुनेछ ।
रुरु क्षेत्र एक परिचय
पौराणिक काल देखी पवित्र तिर्थस्थलको रूपमा परीचित रुरुक्षेत्र (रिडी) गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको माझमा रहेको छ । पश्चिम नेपालको ब्यापारीक राजधानी बुटवल देखी करीब ७० किलोमिटर उत्तरमा अवस्थित यो क्षेत्र गुल्मी जिल्लाको मुलद्वार हो । यो सामुन्द्रिक सतह देखी १८०० फीटको उचाइमा रहेको छ । चारै तिरबाट पहाडै पहाडले घेरिएको र बिचमा समथर जमीन रहेकोले यसको प्राकृतिक बनावट उपत्यका जस्तो देखिन्छ । यो ठाउँमा सडक मार्ग भएर काठमाडौं बुटवल तान्सेन हुँदै आउन सकिन्छ । यहाँ आउन सबै प्रकारका निजी तथा भाडाको सवारी साधन पाउन सकिन्छ । साथै हवाइ मार्ग भएर आउँदा भैरहवा बिमानस्थल देखी बुटवल हुँदै आउन सकिन्छ ।
कालिगण्डकिको किनारामा अबस्थित रुरु क्षेत्रको महिमा पुराण तथा शास्त्रहरूमा उल्लेख गरेको पाइन्छ । बराह पुराणमा रुरु क्षेत्रको पौराणिक इतिहासको बर्णन गरिएको छ्, भने स्वस्थानी किताबमा पनि यसै स्थान (भिर्गुतुङेश्वर) मा सतीदेवीको दन्त पतन भएको उल्लेख गरिएको छ । त्यस्तै हिन्दू धार्मिक मान्यता अनुसार नेपालमा चार वटा धार्मिक क्षेत्रहरू रहेका छन ति क्षेत्रहरू (रुरु क्षेत्र, बराह क्षेत्र, पाशुपत क्षेत्र र मुक्ती क्षेत्र) मध्येको एक क्षेत्र रुरु क्षेत्र पनि हो । यो ठाउँलाई नेपालको बनारसको रूपमा पनि चिन्ने गरिन्छ । बिदेशी बिद्वान पर्सिवल ल्यान्डनले ’नेपाल’ नामक पुस्तकमा बनारसमा उपलब्ध सम्पूर्ण विशेषताहरू रुरु क्षेत्र सँग मेल खाने भएकोले यसलाई बनारस सँग तुलना गर्दै ’नेपालको बनारस’ भनी टिप्पणी गरेका छन । हिन्दूहरूको लागि यो क्षेत्र पवित्र घाट हो । देशको बिभिन्न भुभागबाट मानिसहरू दाह संस्कारका लागि यहाँ आउने गर्छन् । धार्मिक मान्यता अनुसार रुरु क्षेत्रमा देहत्याग गरीएमा मुक्ती पाइन्छ भन्ने विश्वाश रहेको छ । भगवान बिष्णुको प्रतिक मानिने शालीग्राम पनि यहाँ पाउन सकिन्छ । भगवान ऋषीकेशको बिराजमान,कालिगन्डकीको बहाव तथा शालिग्रामको उपलब्धता जस्ता त्रैआयामिक विशेषताहरूको संगम रहनाले रुरु क्षेत्रको बिशिस्ट किसिमको धार्मिक पहिचान बनेको छ ।

