कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म निर्माण हुने भनिएको ‘महाकाली करिडोर’ कछुवाको गतिमा छ । आर्थिक वर्ष ०६५र६६ बाट उत्तर–दक्षिण जोड्ने त्रिदेशीय नाकाका रूपमा महाकाली करिडोर विस्तार गर्ने उद्देश्यका साथ काम अघि बढाइए पनि कञ्चनपुरमा भने अझै काम अघि बढेको छैन । वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन नहुँदा कञ्चनपुरको ब्रह्मदेव खण्डमा कुनै पनि काम भएको छैन । दशक बितिसक्दा पनि भारत जोड्ने तराईको खण्डमा काम नभएपछि महाकाली करिडोरले गति लिन नसकेको हो ।
करिडोरको ट्रयाक खोल्नका लागि दार्चुला, बैतडी र डडेल्धुरामा केही काम अघि बढे पनि कञ्चनपुरमा भने चालू आर्थिक वर्षको भदौ तेस्रो सातासम्म कुनै पनि काम भएको छैन ।
महाकाली करिडोर दार्चुला तिंकर सडकखण्डका सबइन्जिनियर रुबिन भुसालले कञ्चनपुरमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नबनेका कारण काम सुरु नभएको बताए । सबइन्जिनियर भुसालले आर्थिक वर्ष ०७३र७४ मा ७१ किलोमिटर ट्रयाक खोलिएको बताए । उनका अनुसार दार्चुलामा २०, बैतडी ३९ र डडेल्धुरामा १२ किलोमिटर ट्रयाक खोलिएको छ । लामा चन्द्र एन्ड वसन्ता जेभी निर्माण कम्पनीले ५६ करोड ठेक्कामा तीन जिल्लामा ट्रयाक खोलेको थियो । सबइन्जिनियर भुसालले जंगल क्षेत्रबाहेकको सडकखण्डमा ट्रयाक खोलिएको बताए ।
ब्रह्मदेवदेखि दार्चुलाको खलंगासम्म कुल दुई सय ९१ किलोमिटर सडक खण्डमध्ये दुई सय ५४ किलोमिटर सडकखण्डको ट्र्याक खोल्नका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ ।
जिमोसिई एन्ड युनिक कन्सलटेन्सीले महाकाली करिडोरको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाउँदै छ । कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनबारे सरोकारवालासँग छलफलसमेत गरेको छ । दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरका सरोकारवाला निकायसँग छलफल गरिएको हो । छलफलमा सहभागीले कमभन्दा कम वातावरण विनाश हुने गरी त्रिदेशीय नाका खोल्नुपर्नेमा माग अघि सारेका छन् । बैतडीको पञ्चेश्वर विकास प्राधिकरण बन्ने स्थानबाट पूर्वी दोगेडाकेदार गाउँ भीमदत्त लोकमार्ग हुँदै पुन दार्चुलाको महाकाली तिरैतिर सडक लगिएको छ । भारत, कञ्चनपुरको महेन्द्रनगर–टनकपुर जोड्ने लिंकरोडको ब्रह्मदेवदेखि दार्चुलाको तिंकर त्रिदेशीय नाकासम्म महाकाली करिडोर जोडिनेछ । खलंगा–तिंकर सडकखण्डको ट्र्याक खोल्ने कामसमेत भइरहेको छ । त्रिदेशीय नाका विस्तारसँगै सुदूरपश्चिमको व्यापार तथा पर्यटकीय विकासले फड्को मार्ने अपेक्षा गरिएको छ ।
पाँच हजार रूख काटिँदै
वातावरणीय प्रभाव मूल्यांकनको प्रारम्भिक अध्ययनअनुसार करिब चार सय ४३ परिवार विस्थापित हुँदै छन् । बैतडीको पञ्चेश्वर गाउँपालिकाबाट विस्थापित हुने स्थानीयको अध्ययन भइरहेको छ । करिब पाँच सयभन्दा बढी स्थानीय विस्थापित हुने अनुमान गरिएको छ ।
जिमोसिई एन्ड युनिक कन्सलटेन्सीले गरेको अध्ययनअनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा ५४, डडेल्धुराको परशुराम नगरपालिकामा ५५, भाग्येश्वर गाउँपालिकामा चार, बैतडीको शिवनाथ गाउँपालिकामा २१, दशरथचन्द नगरपालिकामा २७, दोगेडाकेदार गाउँपालिकामा ७५ र दार्चुलाको लेकम गाउँपालिकामा दुई, महाकाली गाउँपालिकामा १३ र महाकाली नगरपालिकामा दुई सय १० परिवार विस्थापित हुँदै छन् । विस्थापितको पुनर्वाससँगै सामाजिक, सांस्कृतिक विषयमा पर्ने प्रभावलाई उच्च प्राथमिकताका साथ अघि बढाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

