बझाङ — बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले डोजर नियमनका लागि अग्रसरता लिएपछि यहाँका जनप्रतिनिधिहरू रुष्ट भएका छन् । सीडीओप्रति रुष्ट भएका जनप्रतिनिधिहरू उनको सरुवाको माग गर्दै दिनहुँजसो सिंहदरबारस्थित गृह मन्त्रालय धाउन थालेका छन् ।
‘हामीलाई सिध्याउने भयो । सारा कार्यकर्ताहरू रुष्ट भइसके तत्कालै सरुवा गरिदिनुपर्यो भनेर दैनिकजसो बझाङका जनप्रतिनिधि र नेता गृह मन्त्रालय पुग्ने गरेका छन्,’ गृह मन्त्रालय निकट स्रोतले भन्यो, ‘सोमबार मात्रै गृहसचिव प्रेमकुमार राईलाई भेटेर ३ दिनभित्र सरुवा गर्न एउटा टोलीले अल्टिमेटम दिएर गएको छ ।’ स्रोतले बझाङबाट प्रतिनिधित्व गर्ने केही प्रतिनिधिसभा सदस्यको नेतृत्वमा बझाङका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, पूर्वसभासद, पूर्वमन्त्री र पार्टीका नेता कार्यकर्ताहरू महिनादेखि गृह मन्त्रालय धाउन थालेको जानकारी दियो ।
०७५ फागुन १७ मा बझाङको सीडीओ भएर आएका सुनारले ०७६ जेठबाट डोजर नियमनको प्रयास गरेका थिए । निर्माण गर्नुपूर्व सम्भाव्यता अध्ययन, डिजाइन इस्टिमेट नगरिएका, वातावरणीय प्रभाव अध्ययन नगरीकन हचुवाको भरमा काम थालिएका सडकमा प्रयोग भइरहेका सबै डोजरहरू तत्काल बन्द गर्न जिल्ला प्रशासनले सबै स्थानीय तहलाई पत्राचार गरेको थियो । बिना कुनै सर्भे डिजाइन जथाभावी डोजर सञ्चालन गरी बनाइएका सडकका कारण जिल्लाका धेरै गाउँ र मानिसको जिउधन जोखिममा परेको र महिनैपिच्छे सडक दुर्घटना हुन थालेपछि प्रशासनले डोजर नियन्त्रणको प्रयास थालेको थियो । अव्यवस्थित सडकका कारण हजारौं हेक्टर वन र कृषियोग्य भूमिमा क्षति पुगेको, धेरै गाउँ र बस्ती नै जोखिममा परेको, विपतजोखिम बढाएको तथा सडक दुर्घटनामा परी नागरिकहरूले अकालमा ज्यान गुमाइरहेकाले हचुवामा सडक निर्माण नगर्न गरिएको पत्राचारलाई बेवास्ता गरी चलाइएका डोजर नियन्त्रणमा लिन थालेपछि यहाँका जनप्रतिनिधिहरू झस्किएका थिए ।
हामीलाई अप्ठेरो पारेका छन् भन्ने आरोप लिएर आउने गरेका छन्,’ स्रोतले भन्यो, ‘ठोस आरोप केही नभए पनि नेताहरू उहाँप्रति निकै रुष्ट भएको देखिन्छन् ।’ बझाङका जनप्रतिनिधि र नेताहरू सीडीओको सरुवा माग्दै गृह मन्त्रालय धाउने गरेको गृहसचिव प्रेमकुमार राईले पनि पुष्टि गरेका छन् । कान्तिपुरसँगको कुराकानीमा उनले ‘नेताहरूको हामीसँग समन्वय भएन । काम गर्न गाह्रो भयो’ भन्दै बझाङका जनप्रतिनिधिहरू सीडीओको सरुवा गर्न गृह मन्त्रालय आएको स्विकारे । ‘उहाँहरूको केही थियो होला । व्यक्तिगत वा अरू केही हिसाबले कुरो नमिलेको हुन सक्छ,’ राईले भने, ‘मान्छे त राम्रै हो । प्रशासक र जनप्रतिनिधिको जस्तो रिलेसन भएन भन्ने खालको कुरा गर्नु हुन्छ ।’ उनले कसैले सरुवा माग्न आएकै भरमा सीडीओको सरुवा नहुने बताए । ‘हामी आफ्नो च्यानलबाट के भएको हो भन्ने कुरा बुझ्दै छौं । अहिलेसम्म नराम्रो भएको भन्ने केही पनि प्रमाण फेला परेका छैनन् । गल्ती नगरेको भए सरुवा हुँदैन,’ उनले भने ।
बझाङबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भने आफूहरू सरुवाका लागि डेलिगेसन गएको कुरा अस्वीकार गरे । सांसद भैरवबहादुर सिंहले आफू कसैको सरुवाबढुवाका लागि मन्त्रालय नधाएको बताए । उनले सीडीओ आफ्नो सम्पर्कमा नरहेको भने बताए ।
