नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको अभिव्यक्तिलाई लिएर विभिन्न खालका टिप्पणी भइरहेका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने त्यसमा आफूलाई विश्वास नलागेको बताएका छन् ।
सांसद प्रदीप गिरीले संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा ‘भारतले कश्मीर खाएको छ, सकेको दिनमा उसले नेपाललाई सिक्किम बनाउने छ’ भन्ने अभिव्यक्ति दिएका थिए।
यो अभिव्यक्तिले आम नेपालीमा विभिन्न आशंका पैदा गरेका बेला परराष्ट्रमन्त्री ज्ञवालीले भने आफूलाई सांसद गिरीले संसदीय समिति यस्तो भनेको जस्तो नलाग्ने बताएका हुन्।
काठमाडौँमा सोमबार भएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘उहाँले संसदीय समितिमा भारतले सकेको दिन नेपाललाई सिक्किम बनाइदिन्छ भन्ने अभिव्यक्ति दिनु भएको हो जस्तो लाग्दैन । त्यो सत्य हैन होला ।’
तर त्यो सत्य भएमा अस्वीकार्य रहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताएका छन् । उनले भने, ‘नेपाली नेताले त्यो भन्नु जायज हैन ।’