धनगढी, २३ साउन –सुदूरपश्चिम पश्चिम प्रदेशसभा बैठक साउन २४ गते दिउँसो ३ बजे चल्ने भएको छ । यसअघि, साउन ३ गतेको बैठकपछि केहि दिनका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो ।
प्रदेशसभामा विजनेस नहुँदा बीचमा बैठक चल्न सकेन । प्रदेशसभामा छलफलका लागि एउटा कानून आइसकेकाले २४ गते बैठक बोलाइएको प्रदेशसभा सचिवालय सचिव रामसिंह धामीले जानकारी दिए । उनले २४ गतेको बैठकसंगै बर्खे अधिवेशन अन्त्य पनि हुने बताए ।
यसअघि, प्रदेश सरकारले विधेयक पेश गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशसभा विजनेसविहीन बनेको थियो ।
विजनेस नहुँदा साउन ३ गतेपछि प्रदेशसभा बैठक सञ्चालन हुन सकेको थिएन । प्रदेशसभाबाट हालसम्म २८ वटा विधेयक पारित भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकार गम्भीर नभएकाले प्रदेशसभा पटक–पटक विजनेसविहीन बन्ने गरेको बताउनुभयो ।
नेता रावलले प्रदेश सरकारले जनताको अपेक्षानुसार काम गर्न नसकिरहेको आरोप लगाए । ‘वास्तवमा सरकार गम्भीर र जिम्मेवार भएको देखिदैंन’, उनले थपे–‘त्यसैले प्रदेशसभा पटक–पटक विजनेसविहीन बन्ने गरेको छ ।’ यसअघि, गएको माघ, फागुनमा पनि विजनेस नभएर प्रदेशसभा बैठक लामो समयसम्म सञ्चालन हुन सकेको थिएन ।