जिल्ला प्रशासन कार्यालय कैलाली क्षतिको बिबरण अझै बढ्न सक्ने जनाएको छ । हावाहुरीले सबै भन्दा बढि धनगढी उपमहानगरपालिकामा क्षति पुराएको छ । त्यसपछि गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा क्षति पुराएको स्थानीय प्रशासनले जनाएको छ ।
हावाहुरीले कैलालीको धनगढी उपमहानगरपालिकामा गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा सबै भन्दा बढि क्षति पुराएको जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहराज जोशीले बताए ।
धनगढी उपमहानगरपालिकामा मात्रै ३ हजार १ सय ४६ जना प्रभाबित भएका छन् भने १ हजार ५२ घरमा क्षति पुगेको उनको भनाई छ । गोदावरीमा १ हजार जना प्रभाबित भएका छन् भने ३५० घरमा क्षति पुराएको छ ।
कैलाली गाउँपालिकामा १ हजार ५ सय प्रभाबित भएका छन् भने १०० घरमा क्षति पुगेको छ । ती तीन स्थानीय तहमा १ जनाको जयान गएको छ भने ७६ जना घाइते भएका छन् ।
कैलालीका १३ वटै स्थानीय तनहको अवस्था दर्दनाक रहेको नेपाल रेडक्रस सोसाइटी कैलालीका अध्यक्ष उत्तम जोशीले बताए । हावाहुरीमा परि गोदावरी नगरपालिकामा १ जनाले र टीकापुर नगरपालिकामा एक जनाले ज्यान गुमाएका छन् । हावाहुरी पीडित भने ४ दिन देखी खुला आकास मुनि रात काट्न बाध्य छन् ।
बर्षभरीका लागि संगालेको खाद्यान्न हावाहुरीले नष्ट गरिदिएपछि उनीहरुको बिचल्ली भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले प्रारम्भिक विवरण सार्वजनिक गर्दै राहातलाई व्यवस्थित गर्ने दाबी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहराज जोशीले कैलालीमा अधिकांस क्षेत्रमा पाल उपलब्ध गराउनु पर्ने अवस्था रहेको बताए ।
बिहिबारको हावाहुरीले कैलाललीमा सबै भन्दा बढि प्रभाव धनगढी उपमहानगर पालिकामा प¥यो भने सबै भन्दा कम प्रभाव गौरिगंगा नगरपालिका पारेको थियो । गौरिगंगामा ६० जना प्रभाबित भए भने २० वटा घरमा क्षति पुगेको छ ।
हावाहुरीले कञ्चनपुरका ८७० घरमा क्षति
कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ । रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् ।
त्यस्तै हावाहुरीका कारण कञ्चनपुरका ५२५ बिजुलीका पोल भाँचिएका छन् । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले विद्युत्त पोल भाँचिनुका साथै धेरै ठाउँमा तारमा समेत क्षति पुगेको बताए ।
उनले जिल्लाका अधिकांश ठाउँमा विद्युत् सञ्चालन भइसकेको बताए । “कृष्णपुरको रैकवारबिचुवामा विद्युत् सञ्चालन हुन अझै दुई-तीन दिन लाग्न सक्छ”, उनले भने, “नयाँ पोल ल्याएर तार तान्ने काम हँुदैछ ।”