शंकर बोहरा, धनगढी, माघ ०८- धनगढीको जुगेडामा प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडामा मनकामना युवा क्लबको आयोजनामा वानस्टप अटोमावोईल्स प्रदेश स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको हो । आउँदो माघ ११ गतेदेखि मनकामना युवा क्लबको खेल मैदानमा महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने आज आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । गत बर्ष महिला तथा पुरुष फुटबल प्रतियोतिाको पहिलो संस्करण सम्पन गरेको मनकामना युवा क्लबले यस बर्ष पनि माघ ११ गतेदेखि महिला तथा पुरुष फुटबल प्रतियोगिताको दोस्रो संस्करण आयोजनाको तयारीमा जुटेको आयोजक मनकामना युवा क्लबका अध्यक्ष डबल थापाले बताउनुभयो ।

प्रतियोगितामा पुरुष तर्फ १६ तथा महिला तर्फ ६ वटा टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । प्रतियोगितामा पुरुष तर्फको विजेतालाई ७५ हजार तथा उपविजेतालाई ४१ हजार नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै महिला तर्फको विजेतालाई २० हजार तथा उपविजेतालाई १० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने मनकामना युवा क्लबका अध्यक्ष थापाले जानकारी दिनुभयो ।
धनगढी–१२ जुगेडामा रहेको मनकामना युवा क्लबको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा वडा नम्बर १२ का वडाध्यक्ष गणेश जोशी प्रमुख तथा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष मोहित शाह विशिष्ठ अतिथि रहनुभएको थियो । पत्रकार सम्मेलनमा वोल्दै कैलाली जिल्ला फुटबल संघका अध्यक्ष शाहले मनकामना क्लबले आयोजना गर्ने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय कैलाली जिल्लामा फुटबल प्रतियोगिता हुने क्रम घट्दै गएका वेला अहिले हरेक क्लबहरुले फुटबल प्रतियोगिताको सट्टा पेनान्टी सुटआउट प्रतियोतिाको आयोजना गर्दा नयाँ खेलाडी उत्पादनमा कमी भईरहेकोले त्यस्ता प्रतियोगिता रोक्नुपर्ने उहाँले बताउनुभयो .
उहाँले फुटबल क्षेत्रको विकासका लागि प्रतियोगिताहरु आयोजना हुनुको विकल्प नभएको बताउनुभयो । पत्रकार सम्मेलनमा वोल्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेश प्रसाद जोशीले खेलकुद क्षेत्रको विकासका लागि वडा कार्यालयले गनुपर्ने सहयोगमा कुनै कमी नहुने बताउनुभयो । प्रतियोगिताको मुख्य प्रायोजकमा वानस्टप अटोमोवाईल्स रहेको छ ।