धनगढी,१६ भदौ । बैतडीमा तीजको अवसरमा देउडा प्रतियोगिता हुने भएको छ । जिल्लाको सुर्नया गाउँपालिकाले हरितालिका तीजको अवसरमा यही भाद्र १९ र २० गते पालिकास्तरीय देउडा प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
पालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख निर्मला चन्दले महिलाहरुमा भएको क्षमता प्रस्फुटनमा सहयोग गर्ने र स्थानीय संस्कृतिको जगेर्ना गर्न देउडा प्रतियोगिताको आयोजना गरिन लागेको बताइन् । प्रतियोगिता पालिकाको प्रांगणमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा सहभागी हुन चाहने पालिकाभित्रका महिला देउडीयाहरुलाई आफ्नो नाम टिपोट गर्न र टीमसहित सहभागी हुन आग्रह गरिएको छ । प्रतियोगिताका उत्कृष्ट चार जनालाई पुरस्कारसहित सम्मान गरिने बताइएको छ ।
