धनगढी, १३ भाद्र । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कंचनपुरको शुक्लाफाँटा नगरपालिका(५ खजुवामा वर्षौ देखी अतिक्रमण भएको सार्वजनिक जमिनमा सामुदायिक वनकालागि जमिन नापजाँच थालिएको छ । स्थानियहरुको माग अनुसार निकुञ्ज सहित नापि कार्यलयका अमिन सहितको टोलीले बुधबार सामुदायिक वनको लागि जमिन छुट्टाएको हो ।
अतिक्रमित क्षेत्रमा स्थानियहरुको नम्बरी जमिन र ऐलानी जमिनको नापजाँच गरिएको निकुञ्जका रेन्जर निम चौधरीले बताए । खजुवामा अतिक्रमित जमिनलाई खाली गराएर खजुवा फाँटा मध्यवर्ती सामुदायिक वन बनाउन लागिएको जनाइएको छ । शुक्लाफाँटा राष्ट्रीय निकुञ्जको मध्यबर्ती क्षेत्र खजुवाको स्याली नदि कीनारको १५ बीघा जमिन १५ बर्ष देखी १४ परिवारले अतिक्रमण गरेको स्थानियले बताएका छन् ।
अतिक्रमित क्षेत्रलाई सामुदायिक वनका रुपमा संरक्षण, व्यवस्थापन र सदुपयोग गर्न स्थानिय र जनप्रतिनिधिहरुले निकुञ्जलाई खबर गरे पछि गत असोज २० गते शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महरा सहित वडा नम्बर ५ का वडाध्यक्ष चक्र बहादुर खड्का, त्रिशक्ति उपभोक्ता समितिका अध्यक्ष दमन चन्द लगायत स्थानीयहरुको उपस्थितमा अतिक्रमित क्षेत्रलाई सामुदायिक वन बनाउने विषयमा छलफल भएको थियो ।
पूर्वतर्फ दल बहादुर बोहराको आवादी जमिन, पश्चिममा स्याली नदी, उत्तरमा पर्यटन मार्ग र दक्षिणमा पर्यटन मार्ग सडक चार किल्ला भित्रको क्षेत्रलाई सामुदायिक बनको रुपमा संरक्षण, व्यवस्थापन र सदुपयोग गर्नका लागि बुधबार निकुञ्ज, स्थानिय जनप्रतिनिधि सहित सामुदायिक वनका पदाधिकारी र स्थानियहरुबिच भएको छलफलबाट सहमति भएको वडा नं। ५ का वडा सदस्य जिवन पाण्डे्यले जानकारी दिए ।
उक्त अतिक्रमित सार्वजनिक क्षेत्रलाई सामुदायिक वन बनाउनका लागि गत बैशाख ५ गते क्षेत्र निर्धारण र सामुदायिक वनको लागि उपभोक्ताहरु पहिचान गरिएको थियो । अतिक्रमित सार्वजनिक जमिनमा खजुवा सामुदायिक वन बनाउने गरी गत बैशाखमा लाल बहादुर कुँवरको अध्यक्षतामा एघार सदस्सीय तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिको उपाध्यक्षमा जानकी देवी भण्डारी, सचिवमा रमेश लुहार, कोषाध्यक्षमा लक्ष्मी देवी जोशी चयन रहेका छन् ।