यमुना साउद , धनगढी, १२ भदौ । सिम सिम झरी । साउनको तेस्रो शुक्रवार । धनगढीको सेती प्रादेशिक अस्पतालस्थित प्रसूति गृहको बेड नम्बर ४५ । सरस्वती भाट । निसास्सिएका भावना र आँसुको भारले थिचिएको शरीर । अनगिन्ती पिडा । केही खुसी । उनको छेउमा। ससुरा बुवा गहिरो चिन्तामा डुबेको झैँ भएका थिए तर केही खुसीका भाव पनि । सरस्वतीको आँखामा कुनै राहतको चिन्ह थिएन ।
बरु एउटा गहिरो पीडाले उनीलाई बाँधेको थियो । टाउकोमा कपडा बेरिएकी थिइन । मलिन अनुहारमा उनी एकोहोरो हेरिरहेकी थिइन । मानौँ उनले शब्दभन्दा बढी उनको पिडाले बुझाउन खोजिरहेको थियो ।
चिकित्सकले अहिले कस्तो छ भनेर सोध्छन् ? उनको बोली फुट्दैन, ठिकै छ भन्ने सङ्केत गर्छिन् । आफैँले लगाएको कपडा यसो मिलाए झैँ गर्छिन् । उभिइरहेका श्रीमान् भरत भाटले जवाफ दिन्छन्– आज अलिकति चाउमिन खाइन् ।
फेरि चिकित्सक भन्छन् –दाल भात खान दिनु पथ्र्यो त ! किन चाउमिन दिएको ?
उनी १९ वर्षीय सुत्केरी आमा हुन् । कैलालीको चुरे गाउँपालिका–५ खानी डाडाँकी सरस्वतीले १८ साउनमा छोरो पाइन् । उनीसँग कुरा गर्ने प्रयास गरे । तर उनी आफ्नो पिडाले बोल्न सकिनन् । एकातिर बच्चा रोई रहेको थियो । उनी सुत्केरी भएपछि शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि कमजोर भइन् । दोस्रो दिन उनीसँग दोहोरो कुरा भयो ।
पढ्दा पढ्दै भागी बिहे :
२०८० जेठमा भागेर बिहे गर्दा सरस्वती कक्षा ९ मा पढ्दै थिइन् । पछि परिवारकै संस्कार अनुसार बुहारी बनिन् । उमेर भर्खरै १८ वर्ष पुगेको थियो । विवाह भएको पाचौं महिनापछि नै गर्भवती भइन् । सरस्वतीका अनुसार त्यस बेला परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ भन्ने जानकारी समेत भएन । ख्यालख्यालैमा बच्चा बस्यो ।
‘उनी ८ कक्षामा पढ्दै थिइन् । सानैदेखि नै चिनजान थियो’ सरस्वतीले बिहे गरेको दिन सम्झिइन् ‘१ वर्ष पहिले देखि फोनमा कुरा हुन्थ्यो । अनि भागेर विवाह ग¥यौं ।’
अहिले १९ वर्ष पुगेकी सरस्वतीका घरबाट लामो दूरीमा उनको माइती घर पर्छ । सरस्वतीको माइती डडेलधुराको जोग बुढा हो । उनका श्रीमान् बिहे हुनु भन्दा पहिले पहाडी रुटमा जिप चलाउँथे । त्यही क्रममा सरस्वतीको आठ कक्षामा पढ्दै गर्दा भरतसँग भेट भयो । भेटघाट बाक्लो हुन थाल्यो । विवाह भइसकेपछि उनले पढाइ छाडिन् ।
भरतले ३/४ वर्ष अगाडि ९ मा पढ्दा पढ्दै घरको आर्थिक अवस्थाको कारण पढाइ छोड । घरको आर्थिक अवस्थाले बनिबुता गरेर पालिनुपर्ने अवस्था थियो । अहिले डाइभिङ पेसा छोडेर गाउँघरतिर कृषि गरिरहेका छन् । धेरै जसो समय उनी खेतबारीमा काम गर्छन् । ‘गाउँमा अरू के नै काम हुन्छ र ! खेतबारीमा काम, मजदुरी, बाख्रा पालन गरेर भए पनि पालिनै प¥यो’, उनी भन्छन् ।
गर्भ बसेपछि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण भयो । घरमै व्यथाले च्यापेपछि श्रीमानले सेती प्रादेशिक अस्पताल पु¥याए । एक दिन मै नर्मल डेलिभरी भयो । ‘कलिलो उमेरमा बच्चा पाउँदा धेरै गाह्रो हुने रहेछ ।
उनी धेरै छटपटाइन्,रोइन , कराइन् , आत्तिइन् । डर लाग्यो’ प्रसव वेदनामा श्रीमतीलाई देखेको श्रीमानले समस्या सुनाए, ‘एक दिनदेखि टोलाइरहेकी थिइन, डराई रहेकी थिइन , राम्रोसँग खानेकुरा पनि खाएकी थिइनन् ।’
म अर्को दिन फेरि सेती प्रादेशिक अस्पताल पुगे । २० वर्षीय सङ्गीता राना सुतिरहेकी थिइन् । पीडासँगै मन्द मुस्कान , फिस्स हाँस्दै, चिकित्सकलाई भनिन्, ‘पेट दुखिरहेको छ, रिगाडा लागिरहेको छ ।’
चिकित्सकले टेबुलमा राखिएको रिपोर्ट हेर्दै भनिन्, ‘आत्तिनुपर्दैन । बिस्तारै ठिक हुन्छ ।’ उमेरले २० वर्ष टेकिन् । उनी २०वर्षीय सुत्केरी आमा हुन् । कैलाली कै धनगढी उपमहानगरपालिका ८ की सङ्गीताले २४ साउनमा शल्यक्रिया गरेर छोरो पाइन् । छोरालाई केही समय आइसियुमा राखेर केही समय पछि उनकी सासू आसा रानाले बुहारीको छेउमा ल्याइन् ।
उनी प्रसूति गृहको बेड नम्बर ‘२१ मा अडेस लागेर छोरालाई दूध खुवाउने कोसिस गरिरहेकी थिइन् । तर दूध आइरहेको थिएन । उनले पुनः प्रश्न गरिन्– ‘जति गर्दा पनि दूध आएन, के गर्ने होला , बच्चा रोइरहेको छ ! बच्चाले दूध खान सिके पछि आउँछ भन्दै चिकित्सक पनि खुवाउने तरिका सिकाउन लागिन् ।
श्रीमान्, दिपेस छेउमै बसिरहेका थिए । मनेहराकी सङ्गीताले २०८० फागुनमा भागेर विवाह गरेकी हुन् । सामाजिक सञ्जालमा दिपेससँग जोडिएको छोटो समयमै प्रेम बस्यो । घरपरिवारले मान्छन्, मान्दैनन् थाहा थिएन । त्यसैले उनीहरू दुवैले भागेर विवाह गरे ।
कलिलै उमेरमा कसरी भयो प्रेम? उनका श्रीमानले भन्न लजाए । सङ्गीताले पनि लजाउँदै भनिन्, ‘दुवै जना मन पराउँथे । पछि भागेर विवाह गर्याै ।’
उनका श्रीमान् कक्षा ६ मा पढ्दै गर्दा बिरामी भई रहन्थे । पढाइ पनि छुट्यो । निरन्तरता दिन सकेको थिएनन् । ‘विवाह नहुँदै कार्तिकमै गर्भ बसिसकेको रहेछ । सङ्गीता भन्छिन्, ‘घर परिवारले थाहा पाए पछि हाम्रो विवाह भयो । र पहिलो सन्तान नफाल्न पनि सुझाव दिनुभयो ।’ बिहे गरेपछि भोग्नुपर्ने समस्याको अन्दाज नै उनलाई थिएन, कलिलो मानसिकताले माया मात्रै देखिरहिन् ।
उनका श्रीमान् अहिले ज्याला मजदुरीको काम गर्छन् । हतारमा बिहे गरेकोमा र उमेर नपुगी सन्तान जन्माएकोमा उनी पस्ताई रहेकि छिन् । उनी पढाइलाई निरन्तरता दिन चाहन्छिन् । ‘तर के गर्नु ? त्यति बेला बिहे गरे के–के न हुन्छ भन्ठानियो’ उनले गुनासो गरिन्, ‘अहिले आएर केही वर्षपछि मात्रै विवाह गरेको भए हुन्थ्यो भन्ने लागिरहेछ ।’
कलिलै उमेरमा गर्भवती हुने ठुलो संख्या मध्ये सरस्वती र सङ्गीता दुई जना पात्र हुन् । नेपालको कानुनले २० वर्षभन्दा मुनिको बिहेलाई गैर कानुनी मान्छ । तर समाजमा बालविवाह खुल्याम हुने गरेका छन् । बालविवाह रोक्ने नाममा धेरै सरकारी , गैरसरकारी संस्था खडा भएका छन् तर उपलब्धि भने शून्य देखिएको छ । बालविवाह रोक्ने नाममा ठुलठुला कार्यक्रम हुन्छन् तर उपलब्धि विहीन !
कानुन अनुसार २० वर्षमा विवाह हुँदा छिट्टै बच्चा जन्माउँदा महिलाको उमेर कम्तीमा २१ वर्षको हुनुपर्ने हुन्छ । तर, समाजमा यस्तो कानुनको खुलेआम अवज्ञा भइरहेको धनगढीको सेती प्रादेशिक अस्पतालको तथ्याङ्कले देखाउँछ ।
अस्पतालका अनुसार आर्थिक वर्ष २०७९ /८० मा यो अस्पतालमा मात्र ८ सय ३० जनाको हाराहारीमा १९ वर्षभन्दा मुनिका किशोरीहरूको सुत्केरी भएका छन् । यस्तै आर्थिक वर्ष २०८० /८१मा ५ सय २४ महिला उमेर नपुग्दै सुत्केरी भएका छन् ।
कलिलै उमेरमा विवाह गर्ने र गर्भवती हुने धेरै कारणहरू छन् । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.खगेन्द्र राज भट्ट अनुसार, सानो उमेरमा विवाह हुने प्रमुख कारणमा शिक्षाको कमी, गरिबी, सामाजिक प्रचलन, बेरोजगारी र आन्तरिक कलह सहितका पक्ष जोडिएर आउँछन् ।
‘पछिल्ला वर्षमा किशोरी उमेरमै गर्भवती हुने दर घट्न सकेको छैन’ भट्टले भने, ‘सुदूरपश्चिम १०प्रतिशत किशोरी गर्भवती हुनुले अहिले पनि कलिलैमा सन्तान जन्माउने आमाको भयावह अवस्था देखाएको छ ।’
सबै भन्दा बढी कैलालीमा :
स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०७९/ ८० मा २० वर्ष भन्दा कम उमेरका महिला सुत्केरी हुनेको सङ्ख्या ४ हजार ४ सय ५५ रहेको छ । उक्त वर्ष जम्मा ४२ हजार ६ सय ४२ महिला सुत्केरी भएको तथ्याङ्कमा उल्लेख छ । १०.४५ प्रतिशत महिला २० वर्ष भन्दा कम उमेरका सुत्केरी भएका छन् ।
यस्तै कैलालीमा बाल विवाह एकदमै भयावह देखिएको छ । कैलालीमा एक वर्ष भरिमा १ हजार ७ सय १९ जना महिला २० वर्ष भन्दा कम उमेरका सुत्केरी भएका छन् । बझाङमा पनि यो सङ्ख्या बढ्दो छ । २० वर्ष भन्दा कम उमेरमा ४ सय ६८ जना सुत्केरी भएका छन् ।
यस्तै बाजुरामा ४ सय ३८ , कञ्चनपुरमा ४सय ११ , अछाममा ४सय ९ , डोटीमा ३ सय २६ , डडेलधुरामा २सय ५९, बैतडीमा २सय ३३ र दार्चुलामा १ सय ९५ जना २० वर्ष उमेर नपुग्दै सुत्केरी भएका छन् ।
यस्तै आर्थिक वर्ष २०८०/८१ मा जम्मा ३८ हजार ८ सय ५३ महिला सुत्केरी भएका मध्ये २० वर्ष भन्दा कम उमेरमा सुत्केरी हुनेको महिलाको सङ्ख्या ४ हजार ३८ रहेको छ । यो वर्ष पनि २० वर्ष भन्दा कम उमेरका सुत्केरी सङ्ख्यामा केही परिवर्तन भएको देखिएको छ । यो वर्ष १०.३९ प्रतिशतमा झरेको छ ।
यस्तै यो वर्ष पनि कैलालीमा बाल विवाह घट्न सकेको छैन । १ हजार ४ सय ५८ जना महिला २० वर्ष भन्दा कम उमेरमै सुत्केरी भएका छन् ।
क्रमशः कञ्चनपुरमा ५ सय ३ , बझाङमा ३ सय ९९ , अछाममा ३ सय ७८ , डडेलधुरामा ३ सय १० , डोटीमा २ सय ७२ , बाजुरामा २ सय ६४ , दार्चुलामा २सय २९ र बैतडीमा २ सय २५ जना महिला कम उमेरमै सुत्केरी भएका छन् ।
सुदूरपश्चिममा यस्तो डरलाग्दो तथ्याङ्क आउनुमा प्रमुख कारण सामाजिक पक्षले प्रभाव पारिरहेको डा.भट्टको बुझाइ छ । त्यसैले कम उमेरमै बिहे हुनु र गर्भवती हुनुको कारण खोजिनुपर्ने र समाधानका उपाय खोजिनु पर्ने उनको भनाइ छ ।
घरको पारिवारिक अवस्थाले पनि छिट्टै विवाह गर्ने, विद्यालय उमेरमै बिहे गर्ने र पढाइ छाड्ने, जस्ता कारणले पनि यो विषयको समाजसँग जोडिएर आएको उनको भनाइ छ । ‘किशोरी अवस्था बिस्तारै शारीरिक र मानसिक रूपमा परिपक्व हुने उमेर हो । आमा बन्न तयार नभइसकेको अवस्था भएकोले यसले दीर्घकालीन समयसम्म शारीरिक र मानसिक असर पर्छ’, डा. भट्ट भन्छन् ।
डा.भट्टका अनुसार समाज अझै पनि छोरीलाई २० वर्षभन्दा माथि घरमै राखियो भने भागेर बिहे गर्ने र परिवारको इज्जत जाने, छोरी बिग्रिने भन्ने भ्रम छ । पुरुषवादी सोचका कारण परिवारको करकापले कतिपयको कलिलै उमेरमा विवाह हुन्छ । परिवारकै करकाप तथा योजनामा र कतिपय अवस्थामा भने केटा–केटी मन पराएर भागेर पनि कलिलैमा विवाह गरेका छन् । कतिपयका त २० वर्ष नपुग्दै दुई वटा बच्चा समेत भइसकेको हुन्छन् । धेरैको बच्चा जन्मिसकेर मात्रै विवाह दर्ता हुन्छ’
किशोरी उमेरमा गर्भधारण भइरहेको विषयलाई विभिन्न पक्षसँग जोडेर हेर्नुपर्ने उनी बताउँछन् । उनका भनाइमा, सुदूरपश्चिममा अझै पनि परम्परागत सोच कायम नै छ ।
‘जात, समुदाय र पहाडी क्षेत्रमामा अझै पनि चाँडै विवाह गर्नुपर्छ भन्ने चलन छ । आमा, हजुरआमाले चाँडै विवाह गरेका थिए । छोरीहरूको पनि चाँडै विवाह गराइदिनुपर्छ भन्ने मानसिकता अझै हटेको छैन , डा. भट्टले थपे ।
स्वास्थ्यमा असरः
बालविवाह र सानै उमेरमा गर्भवती हुँदा त्यसले किशोरीको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्छ । ‘सानैमा बिहे गरेपछि केही वर्षमै बच्चा भइहाल्छ । शरीरको विकास भएको हुँदैन , उनीहरूलाई जनचेतना पनि हुँदैन , स्त्री रोग विशेषज्ञ डा. खगेन्द्र राज भट्ट भन्छन्, ‘कलिलै उमेरमा बच्चा जन्माउँदा आमा र शिशु दुवै स्वस्थ हुँदैनन् । कतिपय त बच्चा जन्माइसके पछि पनि शारीरिक मानसिक रूपमा बिछिप्त हुने , दीर्घकालीन रूपमा औषधि प्रयोग गर्नु पर्ने जस्ता समस्या देखिन्छन् ’
किशोरी उमेरमा मानसिकसँगै शारीरिक विकास बिस्तारै हुँदै जान्छ । किशोरी मानसिक रूपमा पनि आमा बन्न तयार भएकी हुँदिनन् । किनकि, किशोर–किशोरी उमेरमा शारीरिक मानसिक परिपक्वता आइसकेकै हुँदैन । आफूले निर्णय गर्ने क्षमताको विकास भएको हुँदैन ।
डा. भट्टका अनुसार, यो अवस्थामा गर्भवती हुनु भनेको स्वास्थ्यको हिसाबले अत्यन्तै खतरा हो ।
‘शारीरिक रूपमा पूर्ण रूपमा तयार नहुँदै आमा बन्दा बच्चा र आमा दुवैलाई जोखिम हुन्छ’ डा. भट्ट भन्छन्, ‘कलिलो उमेरको आमाबाट जन्मिने शिशुहरूको वृद्धि विकास कम हुन्छ । बच्चालाई समेत दीर्घकालीन असर निम्तिन सक्छ ।’
डा. भट्टले भने, कलिलो उमेरमै बच्चा जन्माउँदा गर्भपतनको जोखिम उच्च हुन्छ । मानसिक रूपमा पनि तयार नहुने हुनाले मानसिक समस्या समेत हुन सक्छ । उनी भन्छन्, ‘यस्तो वेला घरपरिवारको सहयोग पुगेन र लामो समय पीडाबाट गुज्रिनुप¥यो भने किशोरी डिप्रेसनमा जान सक्छ ।’
किशोरीको हड्डीको बनावट पूर्ण विकास भइसकेको हुँदैन । जोर्नी पनि ठुलो बनेको हुँदैन । बच्चा बस्ने पाठेघर पनि सानो हुन्छ’ डा. भट्ट भन्छन्, ‘जसले गर्दा बच्चा जन्माउने बेलामा जोखिम लिनुपर्ने हुन्छ । सुत्केरी हुँदा आमाको मृत्यु हुने सम्भावना पनि धेरै हुन्छ ।’
किशोरी आमाहरूबाट जन्मिएका बच्चाको तौल कम हुने तथा सन्तुलित खानपान बारेमा जानकारी कम हुने भएकाले कुपोषित बच्चा जन्मने सम्भावना धेरै हुन्छ । किशोरी आमाले पेटमा हुँदा बच्चालाई ख्याल नगरेको अवस्थामा नर्मल रूपमा विकास हुनुपर्नेमा कम तौलको शिशु जन्मिन सक्छ ।
चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिँदा ३ केजीका हुन्छन् । तर कलिला आमाबाट जन्मिएका बच्चा १.५ केजी र २ केजीका जन्मिन्छन् । यस्ता बच्चा शारीरिक अपाङ्ग तथा मानसिक रूपमा कमजोर समेत हुन्छन् ।
यस्तै सानैमा बच्चा जन्माउँदा कामकाजी उमेरमा आम्दानी भन्दा घरधन्दामै समय बित्ने गर्छ । पढाइ प्रभावित हुन्छ, गर्भवती हुँदा काममा जान नसक्ने भएकाले किशोरी आर्थिक रूपमा घरपरिवारको भर पर्नुपर्ने हुन्छ । कानुनमा बिहे वारी २० पारि भने तापनि कानुन एकातिर समाज अर्कोतिर हुँदै आएको टिप्पणी गर्छन् । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.बालविवाहलाई रोक्नका लागि किशोर किशोरीलाई पढ्ने वातावरण बनाउने र विद्यालय नछोड्ने वातावरण बनाउनुपर्ने बताउँछन् ।
बालविवाह न्यूनीकरणका लागी विभिन्न पालिकासँग समन्वय गरेर समुदाय र विद्यालय स्तरमा कानुनी सचेतना अभिवृद्धि कार्यक्रम गरिरहेको सिबिएन नेपालमा कार्यक्रम संयोजक हरिलाल चौधरीले बताए ।
उनले भने , ‘बाल विवाहले पारेका असर ,प्रभाव र कानुनी जानकारी गराउने गरेका छौ । पालिकासँग समन्वय गरेर समुदाय र विद्यालय स्तरमा कक्षा ६ देखी १२ सम्म बालविवाह न्यूनीकरणका लागी कार्यक्रम गरिरहेका छौ । ’
समाजमा बाल विवाह भएका घटना सबैलाई थाहा हुने तर विभिन्न कारणले सम्बन्धित निकाय सम्म पुग्न नसकेको सिबिएन नेपालमा कार्यक्रम संयोजक हरिलाल चौधरीले बताए ।
उनले भने , ‘पालिका स्तरमा प्रत्येक वडामा बडा सदस्य हुन्छन् । उनीहरूलाई आफ्नो समुदायमा बाल विवाह भएको थाहा हुन्छ । तर चिनजानकै मान्छे हुनु , दबाब आउने र भोट घट्ने डरले थाहा नपाएको जस्तो गर्छन् । केही समय पछि घटना सेलाउँछ । यस्तै कारणले यी घटना हामी सम्म पुग्दैनन् । ’ कानुनको प्रभावकारी कार्यान्वयन नहुनु, अभिवाक सचेत नहुनु नै यसका ठुला समस्या हुन् ।