कैलाली, ३० साउन / सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा सञ्चालनमा आएको २ महिनामै १६ करोड रुपैयाँमा खरिद गरिएको एमआरआई सेवा अवरुद्ध बनेको छ ।
दुई सातादेखि सरकारी अस्पतालमा एमआरआई नहुँदा विपन्न परिवारका बिरामी निजीमा महँगो शुल्क तिर्न बाध्य छन् । सेती अस्पतालमा ८ हजार रुपैयाँमा हुने एमआरआई सेवाका लागि निजीले करिब दोब्बर मूल्य लिने गरका छन् ।
सेवा शुरु भएको दुईमहिनामै मेशिनमा समस्या देखिएको हो । एमआरआई सेवा बन्द गरिएको बारे अस्पतालले एक सुचना जारी गर्दै अहिलेलाई सेवा अबरुद्ध भएको बताएपनी कहिलेसम्म मर्मत हुन्छ केही खुलाएको छैन ।
सेवा लिन आउने सेवाग्राहीहरुले अस्पताल पुगेपछि मात्रै मेशिन बिग्रेको बारे जानकारी पाउने गरेका छन । गत जेठ १३ गतेबाट एमआरआई सेवा शुरु भएको अस्पतालले सुचना जारी गरी जानकारी दिएको थियो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर शेर बहादुर कमरले साउन १४ गतेदेखी एमआरआई मेशिनमा समस्या आएको बताए । उनले मेशिन बिग्रेको बारे सप्लायर्सलाई जानकारी गराइसकेको बताउदै प्राबिधिक टोलि आएपछी मात्रै समस्या समाधान हुने बताए । तर कहिलेसम्म प्राबिधिक टोलि आइपुग्छन् भन्नेबारे भने आफुनै अनबिज्ञ रहेको मेसु कमरले बताए । उनले समयमै प्राबिधिक टोलि नआएका कारण मेशिन मर्मतमा ढिलाई भएको समेत बताए ।