धनगढी,२२ साउन । बैतडीमा एक वर्षको अवधिमा चार लाख किलो जडीबुटी निकासा भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा तेजपत्ता, सिमजडी, चुत्रो, सुगन्धवाल, अमला, रिट्ठा, हर्रोबर्रोलगायतका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय बैतडीले जनाएको हो ।
सबैभन्दा बढी निकासी हुने जडीबुटीमा किरमडाको डाँठ, जरा (स्थानीय चुत्रो) र रिट्ठा रहेको वन कार्यालयले जनाएको छ । जडीबुटी निकासाबाट गत आर्थिक वर्षमा १६ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार हरेक वर्ष चार लाख किलो जडीबुटी भारत जाने गरेको छ । १० वटा स्थानीय तह र ८४ वडामा ६५ वटाभन्दा बढी दुर्लभ वनस्पति र आयुर्वेदजन्य जडीबुटी पाइने गरेका छन् । क्यान्सर रोगको उपचारमा प्रयोग हुने लौठसल्लादेखि गुड र महसमेत उत्पादन हुने गरेको छ ।
जडीबुटी प्रशोधन केन्द्र स्थापना हुन नसक्दा जडीबुटी बिचौलियामार्फत भारत निकासी हुने गरेको नागरिक अगुवा राघव अवस्थीले बताउँछन् । डिभिजन वन कार्यालयका वन अधिकृत दिलीपकुमार यादवका अनुसार रिट्ठा र तेजपत्तापछि र किरमडा (चुत्रो) को बोक्रा, जरा र डाँठ बढी निकासी हुने गरेको छ । चुत्रो सङ्कलन गर्न प्रतिकिलो १० रुपियाँ राजस्व तिरेपछि उक्त जडीबुटी निकासी गर्न पाइन्छ । जिल्लाका विभिन्न ठाउँबाट सङ्कलन गरिएको जडीबुटी नेपालगन्ज नाकाको बाटो हुँदै भारत जाने गरेको वन अधिकृत यादवले बताए ।
आव २०८०/८१ मा जिल्लाबाट ९७ हजार ५४० क्युफिट काठ र एक हजार टन सल्लाको खोटो निकासी भएको छ । काठबाट २६ लाख २६ हजार ७५५ रुपियाँ राजस्व सङ्कलन भएको छ भने, सल्लाको खोटो ३७८ टन निकासी हुँदा पाँच लाख ८९ हजार ९८३ रुपियाँ राजस्व प्राप्त भएको छ । दुर्लभ वनस्पति तथा जडीबुटीको अवैध चोरी निकासी रोक्नुपर्ने र बिचौलियामार्फत हुने निकासीमा कडाइ गर्नुपर्ने माग स्थानीयको छ । बैतडीमा पाइने जडीबुटीलाई स्वदेशमै प्रशोधन गरी औषधी उत्पादन गर्नुपर्ने माग उनिहरुको छ ।