धनगढी,२० साउन । बैतडीको पाटनस्थित सुर्नयागाड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द भएको छ । विद्युतको एडीआर प्रणालीमा समस्या आएपछि विद्युत उत्पादन बन्द भएको हो । विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका अनुसार, सुर्नयागाड जलविद्युत आयोजनाबाट एक सय किलोवाट विद्युत उत्पादन हुँदै आएको छ ।
गत माघदेखि एक सय किलोवाट विद्युत उत्पादन गर्दे आएको उक्त विद्युतको एडीआर प्रणालीमा समस्या आएकाले विद्युत उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।
यसअघी २ सय किलोवाट क्षमताको सुर्नयागाड जलविद्युत आयोजना २०७९ जेठदेखि बन्द रहेको थियो । २०८० माघदेखि एक सय किलोवाट विद्युत उत्पादन शुरु गरिएपनि विद्युत प्रणालीमा समस्या आएपछि फेरि बन्द भएको हो ।
सुर्नयागाड जलविद्युत आयोजना सञ्चालनको लागि गत मंसिरमा नेपाल विद्युत प्राधिकरणको आयोजना विकास विभागको टोलीले स्थलगत अनुगमन समेत गरेको थियो । बन्द रहेको विद्युत उत्पादन कार्य सुचारु गर्नका लागि पहल भइरहेको बैतडी वितरण केन्द्र प्रमुख पौडेलले बताए ।